मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ सुर्केमा बिहीबार दिउँसो दसैं मान्न घर फर्कँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ८५२२ नम्बरको बस दिउँसो ३:५५ बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका-२ बसाहाकी १८ वर्षीया सोनु बसेललाई उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्याइएकोमा उपचारका क्रममा साँझ ५:३० बजे चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा घाइते भएका १५ जनामध्ये एक जनाको अवस्था गम्भीर छ। ओखलढुङ्गाको लिखु गाउँपालिका-३ का ३२ वर्षीय धनबहादुर जोगीलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर विष्णु खड्काले जानकारी दिए।
अन्य घाइतेहरूमा दुई बालक र एक वृद्धासहित १४ जना छन्। घाइते हुनेहरूमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ४५ वर्षीया जिना राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ की २३ वर्षीया कमला बस्याल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ की ७० वर्षीया पदमकला राई रहेका छन्।
त्यसैगरी संखुवासभाको गोठखोला गाउँपालिका-४ की ३९ वर्षीया छिजी शेर्पा, उनका श्रीमान् ४० वर्षीय निङमा शेर्पा, धर्मदेवी नगरपालिका-८ की २२ वर्षीया पबित्रा कटवाल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ की ४० वर्षीया माया भुजेल र उनका ९ वर्षीय छोरा सक्षम भुजेल पनि घाइते भएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३६ वर्षीय वीरेन्द्र थामसुहाङ, उदयपुरकै चौदण्डीगढी नगरपालिका-१ की २७ वर्षीया बिमला नेपाली, काठमाडौं शंखरापुर नगरपालिका-९ साँखुकी ३५ वर्षीया लुना कार्की र उनका ९ वर्षीय छोरा आगमन कार्की घाइते छन्।
मोरङको बेलबारी नगरपालिका-६ की २१ वर्षीया भूमिका कार्की र धनकुटाको पाख्रिबास गाउँपालिका-५ की ३५ वर्षीया मन्दिरा तामाङको पनि जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-१० का ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर खड्काले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।