ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

झलनाथको अभियानप्रति नेकपामा असन्तुष्टि, स्पष्टीकरणको मौका दिएर कारबाहीबारे निर्णय लिने

पार्टीबाट कारबाहीमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल कारबाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ।

शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालको अनुपस्थितिबारे छलफल भएको थियो। अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी खनालले गराएको बैठकमा बताइएको छ। उनको विषयमा अर्को बैठकबाट निर्णय गरिने एक नेताले जानकारी दिए।

बैठकमा संयोजक पुष्पकमल दाहालले खनालसँग भएको कुराकानीबारे जानकारी गराएका थिए। खनालले आफूले पार्टी नछोडेको र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्यले समाजवादी जागरण अभियान सञ्चालन गरेको स्पष्टीकरण दिएको प्रचण्डले बैठकलाई बताएका थिए।

विज्ञापन

नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा नेता खनालले नेकपा एमाले परित्याग गर्नु महाभूल भएको बताउँदै आफू बिरामी भएर भारतमा रहेका समय नेकपा सह-संयोजक माधवकुमार नेपालले गलत सूचना दिएकाले पार्टी छाडेको दाबी गरेका थिए। समाजवादी जागरण अभियान पार्टीलाई अप्ठेरो बनाउन नभइ सबै कम्युनिष्टहरुलाई एकत्रित गर्न सुरु गरेको उनको दाबी थियो।

पार्टीबाट कारबाहीमा परेका हरिबोल गजुरेल, महेश्वर दाहाललगायतका नेताहरूसँग मिलेर छुट्टै अभियान चलाएको विषयमा नेकपाभित्र असन्तुष्टि देखिएको छ। पार्टीका नेताहरूले खनालले आफ्नो भूमिकाबारे स्पष्ट पार्नुपर्ने धारणा राखेका छन्।

‘पहिला वरिष्ठ नेताले बैठकमा आफ्नो धारणा राख्नुहुन्छ। त्यसपछि के गर्ने भन्ने विषयमा पार्टीले निर्णय गर्छ,’ बैठकमा सहभागी एक नेताले बताए।

पार्टी नेतृत्वले खनाललाई पार्टीको नीतिअनुसार अघि बढ्न वा आफ्नो राजनीतिक अवस्थाबारे स्पष्ट निर्णय लिन दबाब दिइरहेको छ। यसअघि असोज ६ गते बसेको केन्द्रीय संयोजन समिति बैठकमा खनालले महाधिवेशनसम्बन्धी २२ बुँदे फरक प्रस्ताव प्रस्तुत गरेका थिए।

कात्तिक ७ देखि नेकपाको राष्ट्रिय जागरण अभियान

नेकपाले आफ्नै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबारको बैठकले आगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान चलाउने कार्यविधि पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरिनेछ। अभियानमा महाधिवेशनको तयारी, सदस्यता नवीकरण, संगठन सुदृढीकरण तथा स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई प्राथमिकता दिइनेछ। साथै, सरकारका जनविरोधी गतिविधि र अराजकताविरुद्ध आन्दोलनका कार्यक्रम पनि सञ्चालन गरिने पार्टीले जनाएको छ।

खनालको छुट्टै अभियानप्रति पार्टीभित्र बढेको असन्तुष्टि र नेकपाले आफ्नै अभियान अघि बढाउने निर्णयले आगामी दिनमा पार्टी नेतृत्व र वरिष्ठ नेताबीचको सम्बन्ध थप पेचिलो बन्न सक्ने देखिएको छ। यद्यपि, खनालमाथि कारबाही गर्ने वा नगर्ने विषयमा भने औपचारिक निर्णय हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।