ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मस्कको प्रश्न : के अम्बानी नै भारतका ‘असली बोस’ हुन् ? राहुलले संकेत गरेको ‘अर्को मान्छे’ को हुन् ?

स्पेसएक्सका संस्थापक एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न भइरहेको ढिलाइबारे प्रश्न उठाउँदै भारतीय उद्योगपति मुकेश अम्बानी लक्षित आक्रमण गरेका छन्।

मस्कको प्रश्नपछि विपक्षी नेता राहुल गान्धीले अर्को शक्तिशाली व्यक्तितर्फ संकेत गर्दै व्यंग्य गरेका छन्। यसले भारत सरकार र ठुला व्यावसायिक घरानाको प्रभावबारे बहस चर्काएको छ।

मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘स्टारलिंकले १६५ भन्दा बढी देशमा सञ्चालनको अनुमति पाइसकेको छ र भारत सरकारका सबै कानुन तथा आवश्यकता पालना गर्न पाँच वर्ष बिताएको छ। त्यसो भए पनि किन अनुमति पाएको छैन ? उनले थप भनेका छन्, ‘इज अम्बानी द रियल बोस अफ इन्डिया ? (के अम्बानी नै भारतका असली बोस हुन्?)’

विज्ञापन

यसअघि मस्कले केही शक्तिशाली व्यावसायिक समूहले आफ्नो एकाधिकार कायम राख्न स्टारलिंकको भारत प्रवेश रोकिरहेको आरोप लगाएका थिए। भारत सरकारले भने उनको आरोप अस्वीकार गरेको छ।

मस्कको टिप्पणीपछि राहुलले एक्समा लेखेका छन्, ‘भारतमा स्वागत छ, एलन। अर्को मान्छेबारे थाहा पाएपछि देख्नुहोला।’ राहुलले कसैको नाम खुलाएका छैनन्। तर उनको टिप्पणी उद्योगपति गौतम अदानीतर्फ लक्षित रहेको अनुमान गरिएको छ।

राहुल र उनको पार्टी कांग्रेसले अदानीको भारत सरकारसँग निकट सम्बन्ध रहेको र त्यसबाट लाभ पाएको आरोप लगाउँदै आएका छन्। मस्कले राहुलको जवाफमा ‘धन्यवाद, राहुल। यो साँच्चै चिन्ताजनक छ’ भनेका छन्।

भारतको सञ्चार मन्त्रालयले भने स्टारलिंकलाई मात्रै रोकिएको भन्ने आरोप अस्वीकार गर्दै स्याटेलाइट सञ्चार सेवाका लागि निष्पक्ष र भेदभावरहित अनुमति प्रणाली रहेको जनाएको छ।

मन्त्रालयका अनुसार मस्कको स्टारलिंक, अम्बानीको जियो स्याटेलाइट र भारती समूहको समर्थन रहेको युटेलस्याट वनवेबले आवश्यक इजाजतपत्र पाइसकेका छन्। तर तीन वटै कम्पनीको सुरक्षा मूल्यांकन जारी रहेकाले उनीहरूले अन्तिम स्वीकृति र स्पेक्ट्रम प्राप्त गर्न बाँकी छ।

यसैबिच, भारतीय जनता पार्टीका नेताहरूले राहुलको प्रतिक्रियाको आलोचना गरेका छन्। उनीहरूले राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राहुलले विदेशी अर्बपति मस्कको पक्ष लिएजस्तो देखिएको बताएका छन्।

भाजपा नेता तथा पूर्व केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले स्टारलिंकको प्रविधि राम्रो भए पनि राष्ट्रिय सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्ने बताएका छन्। उनका अनुसार विदेशी स्याटेलाइट सञ्चार सेवाको सुरक्षा मूल्यांकन पूरा भएपछि मात्रै सञ्चालन अनुमति दिनु उचित हुन्छ।

स्टारलिंकले भारतमा सेवा सुरु गर्न आवश्यक पूर्वाधार निर्माण गरिसकेको जनाएको छ। स्पेसएक्सकी स्टारलिंक बिजनेस अपरेसन्सकी उपाध्यक्ष लरेन ड्रेयरले भारतीय सुरक्षा आवश्यकता र कानुनअनुसार सेवा सञ्चालनको तयारी गरिएको बताएकी छन्।

उनका अनुसार कम्पनीले सयौं एन्टेनासहित २० वटा गेटवे साइट निर्माण गरेको छ। भारतीय प्रयोगकर्ताको तथ्यांक भारतभित्रै राख्ने व्यवस्था पनि गरिएको कम्पनीको दाबी छ।

मस्कले भारतका शक्तिशाली व्यावसायिक समूहले स्टारलिंकलाई रोकिरहेको आरोप लगाए पनि त्यसलाई पुष्टि गर्ने सार्वजनिक प्रमाण प्रस्तुत गरेका छैनन्।

भारत सरकारले भने स्टारलिंकसहित तीन वटै कम्पनी समान नियामक प्रक्रियामा रहेको बताएको छ। यस विवादले भारतको दूरसञ्चार बजारमा प्रतिस्पर्धा, राष्ट्रिय सुरक्षा र ठुला व्यवसायीको राजनीतिक प्रभावबारे बहस चर्काएको छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।