अन्तर्राष्ट्रिय

सम्बन्ध विच्छेदको विवाद टुंग्याउन पूर्वपत्नीलाई ९४४ अर्ब दिन तयार अर्बपति

दक्षिण कोरियाको एसके ग्रुपका अध्यक्ष चेइ ताए-वोनले सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयमा चलिरहेको विवाद टुंग्याउन पूर्वपत्नीलाई ९४४ अर्ब वन (करिब ७० करोड १० लाख अमेरिकी डलर) तिर्न प्रस्ताव गरेका छन्।

चेइले सोमबार सर्वोच्च अदालतलाई विवाद समाधानका लागि सहमतिको प्रस्ताव अघि बढाउन आग्रह गरेका हुन्। उनले पूर्वपत्नी तथा आर्ट सेन्टर नाबीकी निर्देशक रो सो-योङलाई तल्लो अदालतले तोकेको सम्पूर्ण रकम तिर्न तयार रहेको बताएका छन्।

चेइका प्रतिनिधिहरूका अनुसार लामो समयदेखि चलिरहेको विवाद अन्त्य गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो। तर, यसको अर्थ मुद्दा टुंगिसकेको भने होइन। सर्वोच्च अदालतले सहमतिको प्रस्ताव अघि सारेमा कुनै पनि पक्षले निर्णय प्राप्त गरेको दुई साताभित्र आपत्ति जनाउन सक्छन्। दुवै पक्षले आपत्ति नजनाएमा उक्त सहमतिले अन्तिम फैसलासरह कानुनी मान्यता पाउनेछ।

विज्ञापन

यो विवाद सन् २०१७ मा सुरु भएको थियो। सन् १९८८ मा विवाह गरेका चेइले त्यसबेला रोसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएका थिए। सुरुमा तल्लो अदालतले एसके ग्रुपमा रहेको चेइको सेयरलाई उनको व्यक्तिगत सम्पत्ति मानेको थियो। अदालतले दम्पतीको सम्पत्ति बाँडफाँटमा रोको हिस्साबापत ६६ अर्ब ५० करोड वन तिर्न आदेश दिएको थियो।

तर, सन् २०२४ मेमा पुनरावेदन अदालतले चेइको एसके सेयरलाई पनि वैवाहिक सम्पत्तिको बाँडफाँटमा समावेश गर्नुपर्ने फैसला गर्‍यो। त्यसपछि रोले पाउने रकम बढाएर १.३८ ट्रिलियन वन पुर्‍याइएको थियो।

सर्वोच्च अदालतले सन् २०२५ अक्टोबरमा उक्त मुद्दा पुनः सुनुवाइका लागि पुनरावेदन अदालतमा पठाएको थियो। रोका पिता तथा दक्षिण कोरियाका पूर्वराष्ट्रपति रो ताए-वूले उपलब्ध गराएको भनिएको अवैध रकमलाई एसके ग्रुपको विकासमा रोको योगदानका रूपमा गणना गर्न नमिल्ने सर्वोच्च अदालतको ठहर थियो। यद्यपि, छुट्टै क्षतिपूर्तिबापत रोले पाउने दुई अर्ब वनको फैसला भने यथावत् राखिएको थियो।

यसपछि सियोल उच्च अदालतले सन् २०२६ जुलाईमा पुनः फैसला गर्दै चेइको एसके ग्रुपको सेयरलाई वैवाहिक सम्पत्तिको बाँडफाँटमा समावेश गर्नुपर्ने ठहर गरेको थियो। तर, रोले पाउने रकम घटाएर ९४४ अर्ब वन कायम गरिएको थियो।

चेइले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। पछि उनले आफ्नो चुनौतीलाई २४४ अर्ब वनमा सीमित गरेका थिए। रोले भने उक्त फैसलाविरुद्ध छुट्टै पुनरावेदन गरेकी थिइनन्।

चेइले पूर्वपत्नीलाई सम्पूर्ण रकम तिर्न गरेको प्रस्तावसँगै एसके ग्रुपको मुख्य कम्पनी एसके इंकमा उनको सेयर स्वामित्व थप घट्न सक्ने विषय पनि चर्चामा आएको छ।

यसै महिनाको सुरुमा चेइले भुक्तानीका लागि रकम जुटाउन एसके इंकका १६ लाख ५० हजार कित्ता सेयर बिक्री गरेका थिए। उक्त बिक्रीपछि कम्पनीमा उनको सेयर हिस्सा १७.७६ प्रतिशतबाट घटेर १५.४९ प्रतिशतमा झरेको छ। यद्यपि, उनी अझै कम्पनीका सबैभन्दा ठुला सेयरधनी हुन्।

तर, एसके ग्रुपले सेयर बिक्रीपछि पनि कम्पनीमाथि चेइको नियन्त्रण कमजोर नहुने दाबी गरेको छ। कम्पनीले उनको मताधिकार र सम्बन्धित पक्षहरूको सेयर हिस्सालाई आधार बनाउँदै यस्तो दाबी गरेको हो।

एसके ग्रुपका एक अधिकारीले भने, ‘सेयर बिक्रीपछि सबैभन्दा ठुलो सेयरधनीसँग मताधिकार भएको २०.८ प्रतिशत सेयर छ। सम्बन्धित पक्षहरूको सेयरसमेत जोड्दा यो हिस्सा ३०.५ प्रतिशत हुन्छ।’

उनले कम्पनीको स्थिर व्यवस्थापन कायम राख्ने क्षमता यथावत् रहेको पनि बताएका छन्।

चेइले सर्वोच्च अदालतमा गरेको प्रस्ताव स्वीकार भएमा र दुवै पक्षले त्यसमा आपत्ति नजनाएमा सन् २०१७ देखि चल्दै आएको सम्बन्ध विच्छेद तथा सम्पत्ति बाँडफाँटसम्बन्धी लामो कानुनी विवाद अन्त्य हुन सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।