अन्तर्राष्ट्रिय

एक-दुई दिनमै प्रधानमन्त्री बन्ने दाउमा आइसेनकोट, यस्तो छ रणनीति

इजरायलमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कठिन भइरहेका बेला याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले नयाँ रणनीति अघि सारेका छन्।

उनले गठबन्धन घोषणा गरेको एक-दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

द टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा-अर्थोडक्स दल, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा ठोस प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा जुटेका छन्।

विज्ञापन

सम्भावित सत्ता साझेदारलाई आफ्नो निर्णय परिवर्तन गर्ने वा गठबन्धनबाट बाहिरिने समय नदिन उनले यस्तो रणनीति बनाएका हुन्। केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरेर प्रधानमन्त्री बन्न सकिने उनको आकलन छ।

आइसेनकोटले लिकुड पार्टीसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न आफ्नो वार्ता टोलीलाई निर्देशन दिएका छन्। तर, नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव भने उनले अस्वीकार गरेका छन्। आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने उनको अडान छ।

लिकुड पार्टीले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ। यसले दुई पक्षबिच सहमति जुटाउन थप चुनौती खडा गरेको छ।

यसैबिच, डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा-अर्थोडक्स दल सहभागी हुने सरकारको विरोध नगर्ने बताएका छन्। तर, नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यले गठन हुने राष्ट्रिय एकता सरकारमा सहभागी नहुने उनको भनाइ छ।

प्रधानमन्त्री नेतान्याहुले भने देशका चुनौती सामना गर्न सबै राजनीतिक पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताएका छन्।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिएका थिए। १२० सदस्यीय इजरायली संसद् नेसेटमा सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक हुन्छ।

निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ सिट जितेको थियो भने आइसेनकोट नेतृत्वको समूहले ४८ सिट पाएको थियो। त्यस्तै, जोइन्ट लिस्टले ११ र राम पार्टीले आठ सिट जितेका थिए।

यी दुई अरब नेतृत्वका दलको समर्थन पाएमा आइसेनकोटको समूहलाई सरकार गठनका लागि आवश्यक संख्या जुटाउन सहज हुन सक्छ। तर, उनको समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन्।

यस्तो अवस्थामा आइसेनकोटले गठबन्धन घोषणा गरेलगत्तै संसदमा मतदान गराउने रणनीति बनाएका छन्। उनको योजनाअनुसार केही दल तटस्थ बसेमा आवश्यक बहुमत नपुगे पनि सरकार गठनको बाटो खुल्न सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।