बेलायतका पूर्वराजकुमार एन्ड्रयू माउन्टबेटन-विन्डसरले विन्डसरस्थित आफ्नो निवास रोयल लजको भाडा सम्झौता समयअगावै अन्त्य गरेका छन्। त्यसबापत उनले तीन लाख दुई हजार पाउन्ड (करिब चार लाख अमेरिकी डलर) क्षतिपूर्ति पनि पाएका छन्।
दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धलाई लिएर विवाद बढेपछि उनले निर्धारित समयभन्दा अगाडि नै घर छाड्नुपरेको थियो।
क्राउन इस्टेटले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार एन्ड्रयूले ३० कोठा भएको रोयल लज पूर्ण रूपमा खाली गरिसकेका छन्। लन्डनको पश्चिममा विन्डसर क्यासलनजिकै रहेको यो घर वरिपरि ठुलो हरियाली क्षेत्र छ। एन्ड्रयूले सन् २००३ मा उक्त घर ७५ वर्षका लागि भाडामा लिने सम्झौता गरेका थिए।

सम्झौताअनुसार उनले घरको मर्मतसम्भारमा ७५ लाख पाउन्ड खर्च गर्नुपर्ने र एक पटकमा १० लाख पाउन्ड तिर्नुपर्ने व्यवस्था थियो। पहिलो २५ वर्षभित्र घर छाडेमा मर्मतसम्भारमा खर्च गरेको रकमको केही हिस्सा क्षतिपूर्तिबापत पाउने व्यवस्था रहेकाले उनले उक्त रकम पाएका हुन्।
घरको अवस्थाका कारण एन्ड्रयूले तिर्नुपर्ने १८ लाख पाउन्डबाट क्षतिपूर्तिको रकम कटौती गरिएको थियो। त्यसपछि उनले क्राउन इस्टेटलाई करिब १५ लाख पाउन्ड तिरेका थिए। क्राउन इस्टेट बेलायतभरका सम्पत्ति व्यवस्थापन गर्ने संसद्द्वारा स्थापित स्वतन्त्र संस्था हो। यसले प्राप्त गर्ने आम्दानी देशको हितमा प्रयोग गरिन्छ।
एन्ड्रयू र एपस्टाइनबिचको सम्बन्धलाई लिएर विवाद बढेपछि राजा चार्ल्स तृतीयले गत वर्ष एन्ड्रयूको राजकुमार पदवी खोसेर रोयल लज छाड्न आदेश दिएका थिए। एपस्टाइनसम्बन्धी अनुसन्धानका क्रममा अमेरिकाको न्याय मन्त्रालयले लाखौं पृष्ठका कागजात सार्वजनिक गरेपछि एन्ड्रयूसँग उनको सम्बन्धबारे थप विवरण बाहिर आएका थिए।
एपस्टाइनसँगको सम्बन्धबारे उठेका प्रश्नका कारण एन्ड्रयूले सन् २०११ मा बेलायतको विशेष व्यापार प्रतिनिधिको जिम्मेवारी छाडेका थिए। उनी सन् २०१९ मा सबै शाही जिम्मेवारीबाट पनि अलग भएका थिए।
गत फेब्रुअरीमा रोयल लज छाडेका एन्ड्रयू अहिले पूर्वी इंग्ल्यान्डस्थित स्यान्ड्रिङ्घम इस्टेटको घरमा बस्दै आएका छन्। उक्त घर राजा चार्ल्सको निजी स्वामित्वमा रहेको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।