युक्रेनले रुसका तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राखेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चेतावनी दिएका छन्।
उनले युक्रेनले रुसी ऊर्जा केन्द्रहरूमा आक्रमण नरोक्ने हो भने रुसले पनि त्यसको जवाफ दिने बताए। पुटिनले रुसका तर्फबाट गरिने प्रतिशोधात्मक कारबाही अब अपरिहार्य भएको स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना नबनाउन युक्रेनलाई आग्रह गरे पनि आक्रमण नरोकिएको पुटिनको भनाइ छ।

मंगलबार मस्कोमा सरकारी अधिकारी तथा तेल क्षेत्रका उच्च पदाधिकारीसँग भएको बैठकमा उनले यस्तो बताएका हुन्।
पुटिनका अनुसार अमेरिकी राष्ट्रपतिले प्रत्यक्ष रूपमा आक्रमण रोक्न आग्रह गरे पनि युक्रेनी नेतृत्वले त्यसलाई बेवास्ता गर्दै रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण जारी राखेको छ।
‘अमेरिकी राष्ट्रपतिको आग्रह र यस्ता आक्रमणबाट टाढा रहन गरिएको प्रत्यक्ष अनुरोधका बाबजुद किभले हाम्रा तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गर्न छाडेको छैन। यस्तो अवस्थामा रुसका तर्फबाट प्रतिशोधात्मक कदम चाल्नु अपरिहार्य छ,’ पुटिनले बैठकमा भने।
उनले रुसी ऊर्जा केन्द्रहरूको सुरक्षा थप बलियो बनाउन आवश्यक रहेको पनि बताए।
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण अक्टोबरको अन्त्यदेखि रुसी तेल प्रशोधन केन्द्रहरूको संयुक्त प्रशोधन क्षमता करिब ४५ प्रतिशतले घटेको छ।
आक्रमणका कारण रुसका विभिन्न क्षेत्रमा पेट्रोल र डिजेलको आपूर्तिमा समेत समस्या देखिएको छ। स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार केही रुसी क्षेत्रले पेट्रोल तथा डिजेलको खुद्रा बिक्रीमा प्रतिबन्ध लगाएका छन्।
पुटिनले घरेलु इन्धन बजारको अवस्था चुनौतीपूर्ण रहे पनि अक्टोबरमा उच्च बिन्दुमा पुगेको पेट्रोलको मूल्य अहिले स्थिर हुन थालेको दाबी गरेका छन्।
रुस–युक्रेन द्वन्द्व थप फैलिने संकेत
यसैबीच रुस र युक्रेनबीचको तनाव अन्य युरोपेली देशहरूमा समेत फैलिने संकेत देखिएको छ।
पोल्याण्डले मंगलबार रुसी निगरानी ड्रोन आफ्नो सीमा पार गरेर प्रवेश गरेको आरोप लगाएको छ। पोल्याण्डका अनुसार रुसले जानाजानी आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको हो।
यसअघि इस्टोनियाले आफ्नो भूमि सीमा बन्द गर्ने घोषणा गरेपछि रुसले उक्त नेटो तथा युरोपेली संघ सदस्य राष्ट्रमाथि विभिन्न शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको थियो। मस्कोले इस्टोनियाका गतिविधिले खुला युद्ध निम्त्याउन सक्ने अवस्था सिर्जना गरेको टिप्पणी गरेको छ।
त्यस्तै, पोल्याण्डले शुक्रबार तीनवटा रुसी पीजे–१००१ क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको जनाएको छ। शनिबार बाल्टिक सागरमा रुसी सेनासँग सम्बन्धित कार्गो जहाजमा ड्रोन आक्रमण भएको थियो। आक्रमणपछि जहाजमा आगलागी भएको र उक्त घटनाको जिम्मेवारी युक्रेनले लिएको बताइएको छ।
आइतबार युक्रेनले समुद्री ड्रोन प्रयोग गरी लिबियाको बन्दरगाहमा रहेको रुसी नौसैनिक कार्भेट जहाज डुबाएको दाबी गरेको थियो। उक्त घटनापछि लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको आलोचना भएको थियो।
त्यसको जवाफमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले उक्त आक्रमण आत्मरक्षाका लागि गरिएको वैध कदम भएको बताएका छन्।
यसैबीच युक्रेनको जापोरिझिया सहरमा रुसले गरेको रातिको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।
जापोरिझियाका गभर्नर मिखाइलो सेमिकिनले मंगलबार दिएको जानकारीअनुसार उक्त आक्रमणमा चार बालबालिकासहित ४० जना घाइते भएका छन्।
उनले आफ्नो टेलिग्राममार्फत सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा आवासीय अपार्टमेन्ट भवनका झ्यालहरू फुटेको र भवन वरपर भग्नावशेष छरिएको देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।