ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकी बाढी : पुल र जलविद्युत् आयोजनामा क्षति

गोरखाको बूढीगण्डकी नदीमा बाढीले घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै विभिन्न बस्तीका घर डुबानमा परेको र केही संरचना बगाएको जनाएको छ।

नेपाली सेनाको प्रारम्भिक अनुसन्धानबाट सुक्खा पहिरोका कारण नदी थुनिएर बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। माछिखोलाको तल्लो बस्तीका पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको छ। धार्चे गाउँपालिका–३ को सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

विज्ञापन

चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा आसपासका सातदेखि आठवटा घर बगाएको मन्त्रालयले जनाएको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य संस्था कम जोखिममा

मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछिखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन्।

बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोली लाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

बाढीबाट भएको क्षतिको विवरण प्रारम्भिक रहेकाले थप क्षतिको आकलन तथा प्रभावित क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।