आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ। अल अमिरातमा जारी खेलमा नेपालले ५० ओभर पुरै विकेट गुमाएर २३५ रन बनाएको हो।
नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ्स खेले। उनले १२७ बलमा १०१ रन बनाए। उनको इनिङ्समा आठ चौका र एक छक्का समावेश रह्यो। रोहितले सुरुवाती विकेट पतनपछि जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। उनी ४८.३ ओभरमा जाहिद सिरजादको बलमा आउट भए।
त्यस्तै, गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। उनले चार चौका र तीन छक्का प्रहार गरे। गुल्सनले अन्तिमतिर तीव्र गतिमा रन जोड्दै नेपालको स्कोर बढाउन महत्त्वपूर्ण योगदान दिए। उनी ४७.५ ओभरमा अखिल कुमारको बलमा आउट भए।

नेपालका लागि बासिर अहमदले ५७ बलमा ३० रन बनाए भने अर्जुन कुमालले ५४ बलमा २३ रनको योगदान दिए। कप्तान सन्दीप लामिछानेको टोलीले सुरुवातमा लगातार विकेट गुमाए पनि रोहित र गुल्सनको ब्याटिङका कारण सम्मानजनक योगफल तयार गरेको हो।
आसिफ शेख चार रनमा आउट भए भने ईशान पाण्डे खाता नखोली पेभेलियन फर्किए। दीपेन्द्रसिंह ऐरीले १० बलमा ६ रन बनाए।
क्यानडाका लागि सुखजिन्दर सिंहले सर्वाधिक तीन विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चिए। जाहिद सिरजाद र अखिल कुमारले समान दुई-दुई विकेट लिए।
रोहितको शतक र गुल्सनको आक्रामक ब्याटिङ नेपालको इनिङ्सका मुख्य आकर्षण बने। अब नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याउँदै क्यानडा जवाफी ब्याटिङमा उत्रनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।