भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ।
भारतीय विदेश मन्त्रालयले राजदूत नियुक्तिका लागि आवश्यक स्वीकृति माग्दै दलेलाको नाम नेपाल सरकारसमक्ष पठाएको हो। नेपालले स्वीकृति दिएपछि उनको नियुक्ति औपचारिक हुनेछ।
नवीन श्रीवास्तव अवकाशपछि नयाँ दिल्ली फर्किएसँगै काठमाडौंस्थित भारतीय राजदूतको पद खाली भएको थियो। दलेला नियुक्त भएमा उनी श्रीवास्तवको ठाउँमा आउनेछन्।

दलेलासँग नेपाल र भुटान मामिला हेरेको लामो अनुभव छ। उनले भारतीय विदेश मन्त्रालयमा सन् २००६ देखि २००७ सम्म निर्देशक र सन् २०१६ देखि २०१९ सम्म संयुक्त सचिवका रूपमा नेपाल र भुटानसँगको सम्बन्ध हेरेका थिए। उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत थिए।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, जेनेभा र भुटानस्थित भारतीय नियोगमा काम गरेका छन्।
उनले सन् २००९ देखि २०११ सम्म भारतीय प्रधानमन्त्री कार्यालयमा पनि निर्देशकका रूपमा काम गरेका थिए। त्यहाँ उनले दक्षिण एसिया, पूर्वी एसिया, हिन्द–प्रशान्त र मध्यपूर्वसँग सम्बन्धित विषय हेरेका थिए।
हाल दलेला भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव हुन्। उनले यो जिम्मेवारी सन् २०२५ को सेप्टेम्बर १ देखि सम्हाल्दै आएका छन्। आर्थिक कूटनीति, विकास साझेदारी, अफ्रिकासँगको सम्बन्ध र बहुपक्षीय आर्थिक सम्बन्ध उनका प्रमुख कार्यक्षेत्र हुन्।
दलेला ब्रिक्सका प्रतिनिधि पनि हुन्। हालै भएको ब्रिक्स शिखर सम्मेलनमा संयुक्त घोषणामा सहमति जुटाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
नेपाल र दक्षिण एसियाली मामिलामा प्रत्यक्ष अनुभव भएका दलेलालाई नेपालका लागि राजदूत प्रस्ताव गरिनुलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण नियुक्तिका रूपमा हेरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।