बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ का विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीले ३१ परिवारका घर बगाएको छ भने जगत गाउँ सडक तथा पैदलमार्गबाट सम्पर्कविच्छेद भएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार बाढीले भट्टखोला, बगर, पैयू र सल्लेरी क्षेत्रका बस्तीमा क्षति पुर्याएको छ। घर बगाएका परिवारलाई सुरक्षित स्थानमा राख्ने र उनीहरूको व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए।
बाढीले भट्टखोलामा सात, बगरमा १०, पैयूमा १० र सल्लेरीमा चार परिवारका घर बगाएको प्रारम्भिक विवरण छ। घर गुमाएका सबै परिवारका सदस्य सुरक्षित रहेको सापकोटाले जानकारी दिए।

उनका अनुसार बाढीले बस्तीका घर मात्रै नभई सडक तथा पैदलमार्गसमेत कटान गरेपछि जगत गाउँ आवागमनबाट विच्छेद भएको हो।
‘जगत गाउँ नै नाकाबन्दीमा परेको छ। गाउँको तल कालेभिरको बाटो पूरै कटान भएको छ। माथि सल्लेरीतर्फ पनि सबै बगाएको छ। अब जान–आउन मिल्ने अवस्था छैन,’ सापकोटाले भने।
जगतबाट सल्लेरीतर्फ जाने सडक तथा पैदलमार्ग बगाएको छ भने तल बगरतर्फको बाटोसमेत कटान भएको छ। दुवैतर्फको आवागमन अवरुद्ध भएपछि गाउँमा आउजाउ गर्न नसकिएको उनले बताए।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ मा बाढीका प्रत्यक्ष रुपमा १३५ जना प्रभावित भएको सापकोटाले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।