
खोटाङमा एक व्यक्तिको शव फेला परेपछि शंकास्पद ५ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आशंकामा स्थानीय ५ युवा पक्राउ परेका हुन्।
शुक्रबार बिहान गाउँमै मृत भेटिएका राईको हत्या भएको आशंकामा अनुसन्धान गर्दा प्रारम्भिक चरणमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धानको क्रममा युवाहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएअनुसार अविवाहित राईलाई गाउँकै परस्त्रीसँग सम्बन्ध राखेको भेटेर कुटपिट गर्दा ज्यान गएको अनुमान गरिएको छ। घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएका युवाहरूको परिचय भने प्रहरीले खुलाएको छैन।
राति मृत भेटिएका राई दिनभरि गाउँतिरै डुलिहिँडेको देख्ने जान्नेहरू पाइएको तथा मृतकको टाउकोलगायत शरीरका विभिन्न भागमा घाउचोट देखिएकाले उनको अचानक र कसैको कुटपिटबाट ज्यान गएको अनुमानका साथ सोधपुछ गर्न शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिनुपरेको प्रहरी भनाइ छ। शनिबार साँझसम्म घटनाबारे केही नखुलेको पनि प्रहरीले जनाएको छ।
धितुङका वडाध्यक्ष टेकराज राईका अनुसार मृतक राई यसअघि पनि एक स्थानीय विवाहित महिलासँग अनैतिक सम्बन्ध राखेको भन्ने हल्ला चलेको र विवादसमेत हुँदा इलाका प्रहरी चौकी हलेसीमा छलफल गरेर मिलापत्र भएको थियो। त्यही बिन्दुबाट सुरु भएको कुराले अहिले अप्रिय घटनासम्म पुगेको हुन सक्ने आशंका गाउँलेले गरेको वडाध्यक्ष राईले बताए।
घटनाबारे अहिलेसम्म किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ। आरोपितविरुद्ध किटानी जाहेरी परेपछि थप कारबाही प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।