बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस दशैं मनाउन गाउँ फर्किन थालेपछि नयाँ बसपार्कसहित उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा यात्रुको भीड बढेको हो।
गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको चाप देखिएको छ। यात्रुको आवागमन बढेसँगै ट्राफिक प्रहरीले सवारी व्यवस्थापनलाई तीव्र बनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाख २३ हजार ६६४ यात्रुले उपत्यका छाडेका छन्। पछिल्ला दिनमा घर फर्किने यात्रुको सङ्ख्या उल्लेख्य बढेको तथ्याङ्कले देखाउँछ।

असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु उपत्यकाबाट बाहिरिएका छन्। असोज २९ गते सबैभन्दा धेरै यात्रुले उपत्यका छाडेका थिए।
दशैं मनाउन यात्रु फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायत नाका हुँदै बाहिरिएका छन्।
यात्रुको चापसँगै बस व्यवस्थापनमा चुनौती
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले पनि सवारीसाधनको व्यवस्थापन गरिरहेका छन्। सडकको अवस्थाका कारण केही समस्या भए पनि सम्बन्धित निकायसँग समन्वय गरेर बस सञ्चालन तथा व्यवस्थापन भइरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ।
महासङ्घले यात्रुलाई अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउने परम्पराका कारण हरेक वर्ष राजधानीबाट घर फर्किनेको सङ्ख्या बढ्ने गर्छ। लामो समयदेखि परिवारबाट टाढा रहेकाहरू घर फर्किने क्रम तीव्र भएसँगै आगामी दिनमा पनि बसपार्क र उपत्यकाका बाहिरिने नाकामा यात्रुको चाप कायम रहने देखिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।