ब्रेकिङ न्युज
विज्ञापन
समाज

फूलपातीमा घोडादौड : मौलिक पहिचान र संस्कृति जोगाउने प्रयास

कुनै बेला जुम्लाका गाउँबस्तीमा मालसामान ओसारपसारदेखि सरकारी कार्यालयका कामकाजसम्मको प्रमुख साधन थियो जुम्ली घोडा।

सडक विस्तार र मोटरगाडीको पहुँच बढेसँगै घोडापालन घट्दै गएपछि यसको मौलिक पहिचान र संस्कृति जोगाउने प्रयासस्वरूप हरेक दसैंमा फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आएको छ।

यस वर्ष चन्दननाथ नगरपालिका-५, राजासिममा आयोजित जुम्ली घोडादौड प्रतियोगितामा २५ वटा घोडाले प्रतिस्पर्धा गरे। चन्दननाथ नगरपालिकाको आयोजना, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको सहआयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्चको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको मञ्चका महासचिव आनन्द अधिकारीले बताए। प्रतियोगितामा जुम्ली घोडादौड, चाल र पालित विधामा प्रतिस्पर्धा गराइएको थियो।

विज्ञापन

घोडादौड विधातर्फ चन्दननाथ नगरपालिका-१०, गैरा गाउँका छापेन्द्र न्यौपानेको घोडा प्रथम भयो। उनले १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे। यस्तै गुठीचौर गाउँपालिकाका दिलीप बोहराको घोडा द्वितीय र अर्जुन बोहराको घोडा तृतीय भए। उनीहरूले क्रमशः १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाए।

चाल विधातर्फ हर्क शाहीको घोडा प्रथम, प्रताप शाही कठायतको द्वितीय र गणेशबहादुर शाहीको तृतीय भयो। पालित विधातर्फ बिर्खबहादुर भण्डारीको घोडा प्रथम, राजेन्द्रबहादुर रोकायाको द्वितीय र गुठीचौर गाउँपालिकाका नरेश विष्टको तृतीय भएको अधिकारीले बताए। घोडापालक किसानलाई प्रोत्साहन गर्न आयोजकले घोडाका लागि दाना सहयोग कार्यक्रमसमेत सञ्चालन गरेको हो।

जुम्लामा परम्परादेखि दसैंको फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आए पनि तत्कालीन माओवादी र राज्यबिचको सशस्त्र द्वन्द्व तथा कर्णाली राजमार्गमा सवारीसाधन चल्न थालेपछि घोडापालनमा किसानको आकर्षण घटेको थियो। सडक पुग्नुअघि गाउँबस्तीमा मालसामान ओसारपसार गर्ने र सरकारी कार्यालयका कामकाजमा प्रयोग हुने घोडा अहिले क्रमशः विस्थापित हुँदै गएका छन्।

आर्थिक वर्ष २०५५/५६ सम्म जुम्ला विमानस्थलमा घोडा दौडाइने गरिएको थियो। धावनमार्ग पक्की बनेपछि त्यहाँ घोडादौड रोकिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। उनका अनुसार पछिल्लो एक दशकयता प्रतियोगितालाई निरन्तरता दिइँदै आएको छ। सडक सञ्जाल विस्तारसँगै जुम्ली घोडाको उपयोगिता घटे पनि दसैंमा हुने प्रतियोगिताले यसको संरक्षणमा सघाएको आचार्य बताउँछन्।

चन्दननाथ नगरपालिका, पातारासी, सिंजा र गुठीचौर गाउँपालिकाबाट घोडा ल्याइएको प्रतियोगिता हेर्न सिमाचौरमा दर्शकको भीड लागेको थियो। चन्दननाथ नगरपालिका-८, तलिउम गाउँका घोडापालक किसान जयकृष्ण धरालाले घोडादौडले किसानलाई घोडापालनमा प्रोत्साहन गरेको बताए। ‘हरेक दसैंमा आयोजना हुने घोडादौडले घोडा संरक्षणमा सहयोग पुगेको छ,’ उनले भने, ‘हरेक वर्ष दौडमा भाग लिने घोडाको संख्या पनि बढिरहेको छ।’

स्थानीय अर्जुन श्रेष्ठका अनुसार पहिले घोडा गाउँबस्तीमा मालसामान ओसारपसार गर्ने प्रमुख साधन थिए। सडक विस्तारसँगै घोडापालन घटे पनि दसैंको घोडादौडले किसानलाई पुनः घोडापालनमा हौस्याएको उनले बताए।

जुम्ली घोडा कर्णालीको मौलिक पहिचान, परम्परा र संस्कृतिसँग जोडिएको छ। आधुनिक यातायातको विस्तारसँगै संकटमा पर्दै गएको घोडापालनलाई दिगो बनाउन प्रतियोगितालाई निरन्तरता दिनुका साथै किसानलाई प्रोत्साहन र संरक्षणका कार्यक्रम आवश्यक देखिन्छन्। घोडादौडले परम्पराको पुस्तान्तरण र जुम्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैबिच, दसैंको फूलपातीका दिन जुम्लाको गुठीचौरस्थित पर्यटकीय स्थल गोठीचौरमा नवौँ जुम्ली घोडादौड सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा यस वर्ष महिला कृषकको समेत सहभागिता रहेको थियो।

‘संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ कर्णाली खेलकुद क्लबको आयोजना र गुठीचौर युवा क्लबको सहआयोजनामा भएको प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ ३४ खेलाडी सहभागी भएका थिए।

महिलातर्फ गुठीचौर गाउँपालिका-१ की धनलक्ष्मी ऐडीको घोडा प्रथम भयो। गाउँपालिका-२ की सपना बोहराको घोडा दोस्रो, शर्मिला बोहराको घोडा तेस्रो र पविता बोहराको घोडा सान्त्वना भयो।

त्यस्तै, पुरुषतर्फ गुठीचौर गाउँपालिका-१ का ईश्वर ऐडीको घोडा प्रथम भयो। गाउँपालिका-२ का शंकर रोकायाको घोडा दोस्रो, अमृत बुढाको घोडा तेस्रो, प्रेम बोहराको घोडा चौथो र निशाब रोकायाको घोडा पाँचौँ भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले पाँच हजार तथा चौथो र पाँचौँ हुनेले जनही दुई हजार रुपैयाँसहित मेडल प्राप्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।