नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ।
महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो। सोही विषयमा परेको उजुरीका आधारमा एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले शनिबार ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई पक्राउ गरेको महासंघले जनाएको छ।

समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ।
यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसका विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासंघले जनाएको छ।
महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा गरिएको स्वेच्छाचारी व्यवहारप्रति खेद व्यक्त गर्दै कडा भर्त्सना गरेको छ।
साथै, प्रेसविरोधी व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। समाचारको विषयमा विवाद भए सम्बन्धित निकायमार्फत समाधान खोज्न पनि महासंघले सम्बद्ध पक्षलाई सचेत गराएको छ।
महासंघले आफ्नो क्षेत्राधिकारभित्रको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई समेत आग्रह गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको संरक्षणका लागि सम्बन्धित निकायलाई जिम्मेवार हुन आग्रह गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।