नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले शनिबार श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो।
जनआस्था साप्ताहिकमा पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको आरोपसम्बन्धी समाचार प्रकाशित भएको थियो। सोही समाचारलाई लिएर परेको उजुरीका आधारमा एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचारमा चित्त नबुझेका विषयमा प्रचलित कानुनी प्रक्रिया र स्थापित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानविपरीत भएको महासंघको ठहर रहेको उल्लेख छ।
यो पनि पढ्नुहोस्
साइबर ब्युरोबाट पत्रकार श्रेष्ठले भने : समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न
महासंघले यो घटनाले लोकतान्त्रिक मूल्य-मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको उपहास गरेको बताएको छ। प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी शैली अपनाइएको भन्दै महासंघले त्यसप्रति खेद व्यक्त गरेको छ।
महासंघले पत्रकार श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। साथै, समाचारको विषयमा विवाद भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
महासंघले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई पनि आग्रह गरेको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।