ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ ।
साउनमा २ हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए । त्यस्तै, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थालु मन्दिर पुगेका थिए । तीन महिनाको कुल तीर्थालु संख्यामध्ये आधाभन्दा बढीले असोज महिनामा दर्शन गरेका छन् ।

तीर्थालुको आगमनसँगै मन्दिरमा संकलित भेटी रकम पनि बढेको छ । साउनमा ३ लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएकोमा भदौमा १३ लाख ६७ हजार रुपैयाँ र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ संकलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।
पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा दर्शन गर्न आउने तीर्थालुको संख्या र संकलित भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।