ब्रेकिङ न्युज
विज्ञापन
समाज

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन। साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड बगाएको थियो। नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो।

सडक सञ्चालनमा आएसँगै उपल्लो मुस्ताङ र चीनको कोरला नाकाबाट भन्सार जाँच पास गराएर आएका करिब पाँच सय मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्ने प्रतिक्षामा सडकमा रोकिएका छन्। बेनीबाट मुस्ताङतर्फ जाने सवारीसाधनको चापसमेत बढ्दा सडकमा लामो जाम हुने गरेको छ।

विज्ञापन

दसैँ र जाडोयामका लागि चीनबाट आयात गरिएका कपडा, खाद्यान्न तथा फलफूल बोकेका कन्टेनर लामो समयसम्म बाटोमै रोकिँदा व्यवसायी र चालक समस्यामा परेका छन्। विशेषगरी फलफूल बोकेका केही गाडीमा सामान कुहिन थालेको छ। सडक अवरुद्ध हुँदा सामान ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ।

क्षतिग्रस्त सडकको मर्मत तथा सुधारको काम जारी रहेकाले काम गर्नुपर्ने समयमा सवारी आवागमन रोकिने गरेको बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख तेजस्वि शर्माले बताए । ‘सोमबारदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गराउने कार्ययोजना अनुसार परिक्षणका लागि हलुका सवारीसाधन मात्र गुडाउन थालिएको सडकमा अन्धाधुन्दा रूपमा मालवाहक ट्रक, पर्यटक र यात्रुवाहक यातायातका साधन चल्न थालेपछि मर्मतको काम प्रभावित भयो’, उनले भने, ‘प्रारम्भिक मर्मत भएको सडकलाई हिलो बनाउदाँ तिल्केनीचौरलगायत केही ठाउँमा गाडी फस्ने समस्या देखिएको छ।’

कमजोर सडकमा पुनः पहिरो खस्ने र आवागमन अवरुद्ध हुने चिन्ताले चालक तथा यात्रु त्रसित छन्। बेनी-जोमसोम-कोरला सडक योजनाका प्राविधिक विनोद पौडेलले कुनौटा-पोखरेबगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार असोज २६ गतेभित्र मर्मत सकेर सहज रूपमा सञ्चालन गर्न सकिने बनाउने लक्ष्य राखिएको छ।

लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुनुका साथै विद्युत् र फोन तथा इन्टरनेट सेवासमेत प्रभावित भएका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनजीवन सहज बनाउन सडकको पूर्ण सुधार आवश्यक देखिएको छ।

चीनसँगको व्यापारिक आवागमनका लागि प्रयोग हुँदै आएका अन्य नाकामध्ये रसुवागढी बाढीपहिरोका कारण बन्द रहेको र तातोपानी नाकाबाट अपेक्षाअनुसार आवागमन हुन नसकेको अवस्थामा कोरला नाका महत्त्वपूर्ण विकल्प बनेको छ। तर, नाकाबाट सामान आयात भए पनि बेनी जोमसोम सडक सहज नहुँदा ढुवानी र यात्रामा समस्या कायमै छ।

अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।