राजनीतिक विश्लेषक मुमाराम खनालले जनमतबाट सत्ता र शक्तिमा पुग्दैमा कुनै नेता योग्य नहुने टिप्पणी गरेका छन्। उनले दूरदृष्टि, राजनीतिक संस्कार र समाजप्रतिको निःस्वार्थ समर्पणबिना सत्तामा पुग्नेहरू कलाविहीन ‘जोकर’ बन्ने सम्भावना बढी रहेको बताएका छन्।
‘कुनै पनि दल वा दल विशेषको नेतालाई जनमतले सत्ता र शक्तिको मञ्च प्रदान गर्न सक्छ। त्यो ठूलो कुरा होइन। नेपालमा कांग्रेस, एमाले र माओवादीले उल्लेख्य जनमत पाएकै हुन्,’ उनले लेखेका छन्। उनले सत्ता र शक्तिमा पुग्ने व्यक्तिमा दूरदृष्टि, संस्कार तथा समाजप्रतिको निःस्वार्थ समर्पणको भावना र क्षमता हुनुपर्ने उल्लेख गरेका छन्।
‘ठूलो कुरा यो हो कि सत्ता र शक्तिको मञ्चमा अनिवार्य चाहिने दूरदृष्टि, संस्कार र समाजप्रतिको निःस्वार्थ समर्पणको क्षमता र भावना छ कि छैन,’ खनालले प्रश्न गरेका छन्।

त्यस्तो क्षमता र भावनाको अभावमा सत्ता र राजनीतिक मञ्चमा पुग्नेहरू कलाविहीन ‘जोकर’ बन्ने सम्भावना बढी रहने उनको टिप्पणी छ। उनले नेपालको राजनीतिक रङ्गमञ्चमा अहिले यस्तै ‘जोकर’हरूले नेपालीलाई मनोरञ्जन दिइरहेको भन्दै राजनीतिले आफ्नो अर्थ गुमाउँदै गएको बताएका छन्।
खनालले परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूको अराजनीतिक व्यवहारबाट निराश भएका नेपालीले हास्य मनोरञ्जनका लागि जोकरहरूलाई संसद्मा पुर्याएको जस्तो देखिएको टिप्पणीसमेत गरेका छन्।
‘यस्तो लाग्दैछ परम्परागत राजनीतिक दलका ‘माथिल्ला मुखिया’हरूको अराजनीतिक हर्कतबाट रुने अवस्थामा पुगेका नेपालीले हास्य मनोरञ्जन लिन जोकरहरूलाई संसद्मा पुर्याए,’ उनले लेखेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।