ब्रेकिङ न्युज
विज्ञापन
समाज

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाका करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन्।

आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं. ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो।

बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं. ३ र ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। उनका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासमा विद्युत् अवरुद्ध भएको हो। यसबाट ९७१ घरधुरी प्रभावित बनेका छन्।

विज्ञापन

‘बाढीले विद्युत्का १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो। पावर हाउस भने सुरक्षित छ,’ उनले भने, ‘आइतबार बिहान ४ बजेदेखि यो भेगमा बिजुली छैन।’

विद्युत् नहुँदा उत्तरी गोरखाका गाउँबस्ती समस्यामा परेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा पालिकाको प्रशासनिक काम ठप्प बनेको छ। निजी सङ्घसंस्था र स्थानीय नागरिक पनि प्रभावित भएका छन्।

‘बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो। अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदानप्रदानमा समस्या भएको छ। हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो,’ सापकोटाले भने।

फिलिमका केही घरमा जडान गरिएका सोलारमार्फत मोबाइल चार्ज गरेर बाहिर फोनसम्पर्क गर्ने गरिएको उनले बताए।

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले बताइन्।

‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने। बाढीले पुल, बाटो सबै बगायो,” उनले भनिन्, “झन् बिजुली पनि नहुँदा यो ठाउँ अन्धकार बनेको छ। धन्न मानवीय क्षति भने भएको छैन।’

उत्तरी गोरखाका अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको उनको भनाइ छ।

बाढीका कारण धार्चे गाउँपालिका झन् प्रभावित बनेको छ। गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घर विद्युत्विहीन बनेका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए। विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए।

‘बाढीले यहाँको बिजुली, सञ्चार, बाटोघाटो, पुल सबै बगायो, बस्नेतले भने।’

त्यस्तै, आरुघाट गाउँपालिकाका ५० घरधुरी पनि विद्युत्विहीन बनेका छन्। गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार आरुघाट गाउँपालिका वडा नं. ५ को शान्तिबजार क्षेत्रमा ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।