कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। बुधबार दिउँसो सुर्खेतबाट जुम्ला जाँदै गरेको गाडीमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार भे १ ख ४०९४ नम्बरको फोर्स गाडी उकालो चढ्ने क्रममा इन्जिन तातिएपछि धुवाँ निस्किएको थियो।
धुवाँ निस्किएको थाहा पाएपछि चालकले गाडीमा सवार यात्रुलाई ओराल्न थालेका थिए। यात्रुहरूलाई ओराल्दै गर्दा गाडीमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको डीएसपी खत्रीले बताए।

आगलागीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गाडीमा रहेका सम्पूर्ण सामानसमेत जलेका छन्। यात्रुहरूलाई समयमै ओरालिएकाले घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर राना क्षेत्रीको कमान्डमा १५ जनाको प्रहरी टोली आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।