नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि दुई हजार आवास निर्माण गर्ने भएको छ। रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी भवन विभागसँग सम्झौता गरेको हो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार बिहीबार पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग आवास निर्माण तथा भाडा सहायता कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार बाढीबाट घर गुमाएका परिवारलाई अस्थायी बसोबास, स्थायी आवास निर्माण र भाडा सहायतामार्फत राहत उपलब्ध गराइनेछ। बाढीबाट घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने सहमतिसमेत भएको अध्यक्ष भण्डारीले जानकारी दिए।

उनका अनुसार दसैँलगत्तै आवास निर्माणको कार्ययोजना तयार गरिनेछ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास र स्थायी घर निर्माण प्रक्रिया अघि बढाइनेछ।
आवास निर्माणको नेतृत्व भवन विभागले गर्नेछ भने रेडक्रसले सहकार्य गर्नेछ। सम्झौतामा दुवै पक्षका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
यस कार्यक्रमबाट बाढीका कारण घरबारविहीन भएका परिवारलाई तत्काल बसोबासको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा सुरक्षित आवास उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।