बाढीपहिरोका कारण निम्तिएको प्राकृतिक विपद्ले यस वर्ष गण्डकी प्रदेशका हिमाली जिल्लालाई नराम्रोसँग थिलथिलो बनाएको छ।
मानवीय क्षति कम भए पनि हिमाली भेगका बासिन्दाले योपटक इतिहासकै चर्को आर्थिक नोक्सानी बेहोर्नुपरेको छ। कतै पहिरोले सडक कटान गर्दा महिनौंसम्म आउजाउ ठप्प भएको छ भने कतै ढुवानी अवरुद्ध हुँदा बस्ती-बस्तीमा दैनिक उपभोग्य खाद्यान्न अभावको संकट देखा परेको छ।
हिमाली भेगका चट्टानी बाटो खुलाउन हप्तौं समय लाग्दा उच्च हिमाली क्षेत्रका बासिन्दा महँगी र अभावको दोहोरो चपेटामा पिल्सिएका छन्। बाढीपहिरो थामिए पनि त्यसले पारेको संकटको कालो बादल अझै हट्न सकेको छैन।

सहज यातायात र ढुवानी रोकिनासाथ उच्च हिमाली क्षेत्रका गाउँहरूमा नुनदेखि चामलसम्मको भाउ आकासिएको छ। बजारमा दैनिक उपभोग्य वस्तुहरूको चरम अभाव देखिएको स्थानीय बताउँछन्।
असोज-कार्तिकको यो मौसम हिमाली जिल्लाहरूमा पर्यटकको मुख्य आगमन हुने समय हो। तर, प्राकृतिक विपत्तिले पदमार्ग र सडकहरू क्षतविक्षत बनाइदिएपछि विदेशी तथा स्वदेशी पाहुनाको यात्रा एकाएक रोकियो। वर्षभरिको खर्च जोहो गर्न यही मौसममा भर पर्ने स्थानीय पर्यटन व्यवसायी, होटल सञ्चालक, पथप्रदर्शक र भरियाहरूले आफ्नो मुख्य आम्दानीको स्रोत गुमाउनुपरेको छ।
पर्यटनसँगै, हिमाली जिल्लाको मुख्य नगदेबालीका रूपमा रहेको स्थानीय उत्पादनसमेत बजारसम्म पुग्न सकेन। हिमाली भेगमा लटरम्म फलेका स्याउ टिपेर चाडबाडको मुखमा सहर झार्ने र वर्षभरिको जोहो गर्ने स्थानीय किसानको सपना बाढीपहिरोले सडकमै चकनाचुर बनाइदिएको छ।
ढुवानीका साधन नचल्दा लाखौं रुपैयाँ मूल्यको स्याउ बोटमै र गोदाममै कुहिएर नष्ट भएको छ। पदयात्राका लागि आएका पाहुनालाई आतिथ्य सत्कार दिएर कमाउने बाटो त बन्द भयो नै, आफ्नै पसिनाको फल बेचेर चाडपर्व मनाउने अवसरबाट समेत स्थानीय वञ्चित भएका छन्।
सम्पर्कविच्छेद चुम उपत्यका
उत्तरी गोरखाको विकट हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका-६ स्थित सर्दिभीरको क्यान्टिलिभर पुल गत आइतबार आएको बाढीले नामनिसान नरहने गरी बगाइदियो। बुढीगण्डकी नदीको प्रमुख सहायक नदीका रूपमा रहेको स्यार खोलामा आएको भीषण बाढीले पहरामा खोपेर बनाइएको करिब तीन सय मिटर लामो पुल बगाएपछि माथिल्लो भेगका बासिन्दा पूर्ण रूपमा सम्पर्कविच्छेद हुन पुगेका छन्
भीरको चट्टान खोपेर निर्माण गरिएको उक्त क्यान्टिलिभर पुल चुमनुब्रीका वडा नम्बर ६ र ७ का झण्डै १५ सय बासिन्दाका लागि आवतजावत गर्ने एक मात्र जीवनरेखा थियो। पुल बगेपछि स्थानीयको आवागमनसँगै, ती दुई वडाका लागि आवश्यक नुन, तेल, चामल र औषधिजस्ता दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत ठप्प भएको छ।
विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र ‘चुम भ्याली’ घुम्न निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरू यही बाटो हुँदै ओहोरदोहोर गर्थे। तर, अहिले त्यो सिङ्गो पदमार्ग ठप्पप्रायः बनेको छ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार तल्लो भेगमा सामान्य अवस्था भए पनि माथिल्लो दुई वडा अहिले पूर्ण नाकाबन्दीको चपेटामा परेका छन्।
‘अरूतिर खासै ठूलो संकट छैन। तर चुमनुब्रीका ६ र ७ नम्बर वडाका बासिन्दा अहिले आफ्नै भूमिमा नाकाबन्दीमा परेका छन्,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘क्यान्टिलिभर पुल बाढीले बगाएपछि ती दुई वडासम्मको मानवीय र भौतिक पहुँच पूर्ण रूपमा टुटेको छ। लामो समय यही अवस्था रहिरहने हो भने त्यहाँ खाद्यान्न संकट निम्तिनेछ। ढुवानी रोकिएको धेरै दिन नभएकाले अहिलेसम्म त मौज्दातले धानेको छ, तर यो अवस्था लम्बिएमा गाउँमा भोकमरी हुनेछ।’
उक्त दुर्गम क्षेत्रमा खाद्यान्न तथा निर्माण सामग्री ओसारपसार गर्ने मुख्य साधन खच्चड नै हुन्। भीरको बाटो र पुल नै नरहेपछि खच्चडको ताँती पनि रोकिएको छ। सदरमुकाम गोरखा बजारसँगको सञ्जाल विच्छेद हुँदा गाउँपालिका तथा वडाका दैनिक प्रशासनिक कामकाजहरू अलपत्र परेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार अहिले ती गाउँहरूमा कुनै नागरिक बिरामी परेमा उद्धारका लागि महँगो हेलिकप्टर चार्टर गर्नुबाहेक अर्को कुनै विकल्प बाँकी छैन।
‘चुम उपत्यका अहिले चारैतिरबाट घेरिएर बन्दीजस्तै बनेको छ। त्यहाँ पुग्ने एक मात्र भरपर्दो आधार क्यान्टिलिभर पुल नै थियो,’ गुरुङले थपिन्, ‘२०७२ सालको विनाशकारी भूकम्पअघि त्यो पहरामा पाइला टेक्ने ठाउँसमेत थिएन। स्थानीयले निकै जोखिम मोलेर ज्यानको बाजी लगाउँदै हिँड्नुपर्थ्यो। बल्लतल्ल क्यान्टिलिभर प्रविधिबाट पुल बनेर जनजीवन सहज भएको थियो, तर बाढीले फेरि उही पुरानै कष्टकर दिनमा फर्काइदियो।’
गाउँपालिकाले अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा सर्दिभीरको चट्टानी भागमा काठेपुल बनाएर भए पनि तत्कालका लागि बाटो खुलाउने कसरत गरिरहेको छ।
उपाध्यक्ष गुरुङ भन्छिन्, ‘त्यहाँ कम्तीमा चार-पाँच ठाउँमा काठेपुल हाल्नुपर्ने अवस्था देखिएको छ। तर भीर यति डरलाग्दो छ कि काठ अड्याउने ठाउँ कतै छैन, माटो बगेर नाङ्गो ढुङ्गा मात्र बाँकी छ। प्राविधिक रूपमा काम गर्न निकै कठिन भइरहेको छ।’
तल्लो तटीय क्षेत्रमा आएको बाढीले गोरखाको सिङ्गो माथिल्लो हिमाली अर्थतन्त्रलाई ध्वस्त बनाएको उनको भनाइ छ। सडक र पदमार्ग कहिले पुनर्निर्माण भइसक्छ भन्ने कुनै निश्चित छैन।
यसकै कारण मनास्लु पदमार्ग यतिबेला सुनसान बनेको छ। विश्वकै आठौं अग्लो मनास्लु हिमाल आरोहण गर्ने, लार्के पास गर्ने र चुम उपत्यका घुम्ने उद्देश्यले आएका पर्यटकहरू बीचबाटोबाटै फर्कन बाध्य भएका छन्।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार पदमार्ग बाढीपहिरोले क्षतविक्षत पारेपछि यो वर्षको मुख्य पर्यटकीय सिजन नराम्ररी प्रभावित भएको छ, जसको प्रत्यक्ष असर यहाँका होटल व्यवसायी र स्थानीय श्रमिकको रोजगारीमा परेको छ।
मनाङमा पुलको बिममाथि काठ राखेर जोडियो जीवनरेखा
उता अर्को हिमाली जिल्ला मनाङको अवस्था पनि उस्तै पीडादायी रह्यो। असोजको दोस्रो साता परेको अविरल वर्षा र त्यसपछि खसेको भीषण पहिरोले चामेस्थित मर्स्याङ्दी नदी थुनिएपछि माथिल्लो मनाङलाई जोड्ने पक्की मोटरेबल पुल नै पानीमा डुब्यो।
चामे गाउँपालिकाका वडा नम्बर ४ र ५ जोड्ने ३५ मिटर लामो फलामे ट्रस पुल जलमग्न भएपछि माथिल्लो मनाङतर्फको यातायात र ढुवानी सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो।
दुई सातासम्म ढुवानी रोकिँदा विश्वप्रसिद्ध अन्नपूर्ण सर्किट पदयात्रामा निस्किएका विदेशी पर्यटक चामेमै अलपत्र परे भने माथिल्लो मनाङका नेस्याङ र नार्पाभूमि क्षेत्रका बासिन्दामा खाद्यान्न अभावको त्रास फैलियो।
नदीको सतह घटाउन र पुलमुनि थुप्रिएको ढुङ्गा, गिट्टी तथा बालुवा पन्छाउन स्थानीय प्रशासन र सुरक्षा निकायले लगातार दुई सातासम्म अथक प्रयास गरे पनि निरन्तर बगेर आएको गेग्रानका कारण त्यो सम्भव हुन सकेन।
अन्ततः माथिल्लो क्षेत्रको भोकमरी टार्न र फसेका पाहुनालाई गन्तव्यमा पठाउन स्थानीय प्रशासनले एउटा जोखिमपूर्ण जुक्ति निकाल्यो, पानीमा डुबेको पुलको माथिल्लो फलामे बिममाथि काठका फल्याकहरू तेर्स्याएर अस्थायी रूपमा हलुका सवारीसाधन सञ्चालन गर्ने।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार मानवीय संकट गहिरिन नदिन यो विकल्प रोज्नुपरेको हो। ‘पहिरोले थुनेको तालको बहाव खोले पनि नदीमा थुप्रिएको गेग्रानका कारण सतह यति धेरै बढ्यो कि पुलको स्ल्याबमाथिबाटै पानी बगिरह्यो,’ प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘जति नै पन्छाए पनि पानी पुलमुनि लैजान नसकेपछि माथिल्लो क्षेत्रमा खाद्यान्न ढुवानी सहज बनाउन पुलको माथिल्लो खण्डको फलामे बिममाथि काठ बिछ्याएर अस्थायी रूपमा यातायात खुलाएका हौं।’
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले समयमै यो जुक्ति नलगाएको भए माथिल्लो मनाङले ठूलो मानवीय संकट झेल्नुपर्ने अवस्था आइसकेको बताए।
‘अन्नपूर्ण फेरोको पदयात्रामा आएका पर्यटकहरू चामेमै रोकिएका थिए। चामेभन्दा माथिका गाउँमा खाद्यान्न आपूर्ति गर्ने मुख्य बाटो नै यही पुल थियो,’ अध्यक्ष घलेले भने, ‘दुई सातासम्म सामान ढुवानी हुन नसक्दा माथिल्लो क्षेत्र नाकाबन्दीको अवस्थामा पुगेको थियो। अझै केही दिन बाटो नखुलेको भए गाउँमा खाद्यान्नको हाहाकार मच्चिने निश्चित थियो।’
अस्थायी रूपमा काठको संरचना बनाएर गाडी गुडाइए पनि यो दीर्घकालीन समाधान भने होइन। फेरि नदीमा पानीको बहाव थोरै बढ्नासाथ वा पहिरो खस्नासाथ माथिल्लो मनाङ फेरि सञ्जालविहीन हुने जोखिम कायमै छ।
मुस्ताङमा कालीगण्डकी करिडोर सास्ती
बाढीपहिरोको उस्तै भयावह असर धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पनि देखियो। मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरला (कालीगण्डकी करिडोर) सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर दुई सातासम्म पूर्ण रूपमा बन्द भयो। सडक बन्द हुँदा माथिल्लो मुस्ताङसम्मै खाद्यान्न अभाव, ग्यासको कालोबजारी, औषधि र तरकारीको चरम संकट देखियो।
विगतमा सडक नपुग्दा मुस्ताङीहरूको आफ्नै परम्परागत जीवनशैली थियो। वर्षायाम सुरु हुनुभन्दा अगावै उनीहरू म्याग्दीको बेनीबाट खच्चडमा बोकाएर भए पनि हिउँद र वर्षाभरिलाई पुग्ने गरी चामल, पीठो, नुन, तेल, औषधि, ग्यास र इन्धन ढुवानी गरेर घर-घरमा मौज्दात राख्थे।
तर, पछिल्ला वर्षहरूमा कालीगण्डकी करिडोर कालोपत्र हुँदै गएपछि र बाह्रैमास गाडी चल्न थालेपछि पुरानो मौज्दात राख्ने बानी हराउँदै गयो। बजारमा चाहिएको बेला सामान किन्न पाइने भएपछि कसैले पनि खाद्यान्न सञ्चिति गरेनन्। तर, यसपटक दुई साता सडक अवरुद्ध हुनासाथ त्यसको भयानक मूल्य स्थानीयले चुकाउनुपरेको छ।
माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु घलेका अनुसार सडक बन्द हुनुको सिधा असर दुर्गम बस्तीका भान्सासम्मै परेको छ।
‘बाढीपहिरोले दुई सातासम्म कालीगण्डकी करिडोर रोकिएपछि त्यसको प्रत्यक्ष मार माथिल्लो क्षेत्रमा परिसकेको थियो। बजारमा खाद्यान्न सकियो, ग्यास, औषधि र हरियो तरकारी पाउनै छाड्यो,’ अध्यक्ष घलेले दुखेसो पोखे, ‘सबैभन्दा बढी सकस त पेट्रोलियम पदार्थको अभावले निम्त्यायो। मान्छेसँग गोजीमा पैसा भए पनि बजारमा किन्ने सामान केही थिएन। अझै केही दिन सडक नखुलेको भए गाउँमा भयावह अवस्था आउनेवाला थियो।’
सडक खुलेपछि अहिले त्रास केही कम भए पनि समस्याको स्थायी समाधान नभएको उनको भनाइ छ। ‘पहिले सडक नहुँदा खच्चडबाट सामान ओसारेर महिनाैंका लागि मौज्दात राख्ने गरिन्थ्यो। चीनको तिब्बततर्फको नाकाबाट सामान नियमित ल्याउन सकिन्न,’ उनले भने, ‘अहिले सडकमा निर्भर हुँदा दुई हप्ता बाटो रोकिँदैमा गाउँमा हाहाकार मच्चियो।’
सडक बन्द हुँदा मुस्ताङको मुख्य आर्थिक मेरुदण्ड मानिएको स्याउ उत्पादनमा समेत ठूलो क्षति पुगेको छ। दसैं-तिहारको मुख्य बजार लक्षित गरेर टिपिएका स्याउ ढुवानी हुन नसक्दा किसानका गोठमै थन्किएर सडेका छन्।
‘न तलबाट सामान ल्याउन सकियो, न यहाँको उत्पादन बजार झार्न नै पाइयो,’ अध्यक्ष घले भन्छन्, ‘यो मौसम भनेको हजारौं आन्तरिक र बाह्य पर्यटक मुस्ताङ भित्रिने मुख्य समय थियो। तर, सडक अवरुद्ध भएकै कारण ठूलो संख्यामा पाहुना भित्र्याएर वर्षभरिको खर्च जुटाउने अवसरबाट मुस्ताङ योपटक नराम्ररी चुक्यो।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।