ब्रेकिङ न्युज
विज्ञापन
समाज

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुलेको आरोपमा मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन्।

सीआईबीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

विज्ञापन

प्रहरीका अनुसार उनीहरूले मलेसियामा वैदेशिक रोजगारीमा जान आवश्यक स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘म्याक्रोटेक प्रालि’का नाममा बायोमेडिकल सर्भिस चार्ज उल्लेख गरी अतिरिक्त रकम असुलेको आरोप छ। यसबाट श्रमिकलाई आर्थिक क्षति पुर्‍याएर आफूहरूले अनुचित आर्थिक लाभ लिएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सीआईबीले यस घटनाबाट पीडित भएका श्रमिकलाई प्रमाणसहित ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जाहेरी दिन अनुरोध गरेको छ।

मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क असुल्ने तथा सीमित संस्थाको प्रभाव कायम गर्ने प्रयास भएको भन्दै यसअघि पनि विरोध हुँदै आएको थियो। स्वास्थ्य परीक्षणका नाममा श्रमिकमाथि आर्थिक भार थपिएको भन्दै सम्बन्धित प्रक्रिया पारदर्शी बनाउनुपर्ने माग उठ्दै आएको छ।

यस घटनामा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोप पुष्टि भएमा उनीहरू कानुनी कारबाहीको भागीदार हुनेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।