विजयादशमी तथा दीपावलीको अवसरमा कालीकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खसी र खेलकुद सामग्री उपहार प्रदान गरिएको छ।
चाडपर्वका बेला कारागारमा रहेका कैदीबन्दीलाई खुसी बाँड्ने र उनीहरुमा सकारात्मक भावना विकास गर्नका लागि जिल्लाको महावै गाउँपालिकाले खसी र खेलकुद सामग्री उपहार दिएको हो।
विजयादशमी तथा दीपावलीको अवसरमा कारागारमा रहेका कैदीबन्दीलाई खसी र खेलकुद सामग्री हस्तान्तरण गरिएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

उनले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आपसी भाइचाराको अवसर भएकाले कारागारमा रहेकालाई चाडपर्वको अनुभूति गराउने उद्देश्यले उपहार दिइएको बताए।
कारागारमा रहेका कैदीबन्दीलाई चाडपर्वका बेला आवश्यक सहयोग तथा खेलकुद सामग्री उपलब्ध गराउँदा उनीहरूको मनोबल बढ्नुका साथै आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने अध्यक्ष सिंहले जानकारी दिए।
‘समाजमा विभिन्न कारणले कानुनी प्रक्रियामा परेर कारागारमा रहेका व्यक्तिहरुलाई पनि मानवीय दृष्टिकोणबाट हेर्नुपर्ने सन्देश दिएको छ,’ उनले भने, ‘चाडपर्वका बेला गरिने यस्ता सहयोगले कैदीबन्दीमा एक्लोपनको अनुभूति कम गर्न र समाजप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्छ।’
जिल्ला कारागार कालीकोटमा ४९ जना कैदीबन्दी रहेको जिल्ला कारागार कालीकोटले जनाएको छ। जसमध्ये पाँच जना महिला ४४ जना पुरुष रहेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।