ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

१० देशका प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका आवासीय राजदूतहरूमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।

बुधबार बसेको समितिको बैठकले १० जनाको नाम अनुमोदन गर्दा साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम भने अस्वीकृत गरेको हो।

विवादमा तानिएका अन्य दुई देश मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको नाममा भने समितिले तत्काल कुनै निर्णय लिएको छैन। उनीहरूको अनुमोदनबारे निर्णय लिन बाँकी रहेको समितिले जनाएको छ।

विज्ञापन

सुनुवाइका क्रममा महिला हिंसा, गैरकानुनी आर्थिक असुली तथा नैतिक आचरणमाथि गम्भीर प्रश्न उठेपछि सांसदहरूले सुनारलाई नाम फिर्ता लिन आग्रह गरेका थिए।

तर, उनले आरोपहरू अस्वीकार गर्दै फिर्ता लिन नमानेपछि समितिले औपचारिक निर्णयमार्फत उनको सिफारिस अस्वीकृत गरिदिएको हो।

समितिबाट भारत, चीन, अमेरिका र बेलायतसहित १० देशका प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ।

अनुमोदित हुनेहरूमा भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका निम्ति सरू जोशी रहेका छन्।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, ओमानका निम्ति डा. पदमाक्षी राणा, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झाको नाम पनि समितिबाट अनुमोदन भएको छ।

गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि आवासीय राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका १० जनालाई अब राष्ट्रपतिले औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।