नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै महामन्त्री संग्रौलाले आफ्नो भूमिका केवल देखावटी वा पद ओगट्ने मात्र नहुने स्पष्ट पारिन्।
‘यो पद शक्ति आर्जन गर्ने माध्यम होइन, यो बोल्दै हिँड्नेभन्दा पनि गरेर देखाउने जिम्मेवारी हो,’ महामन्त्री संग्रौलाले भनिन्, ‘कांग्रेसको इतिहासमै पहिलोपटक महिलालाई महामन्त्री पदमा पुर्याइएको छ। म यसलाई महिला, दलित र सीमान्तकृत समुदायको वास्तविक सशक्तीकरणमा बदल्नेछु।’

आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुख वा सहायक पदमा मात्र सीमित गर्ने परिपाटीको अन्त्य गर्ने उनले घोषणा गरेकी छन्। अब पार्टीले स्थानीय तहका प्रमुख पदहरूमा महिलालाई प्रत्यक्ष प्रतिस्पर्धाका लागि टिकट दिने वातावरण निर्माण गर्ने उनको भनाइ छ।
‘जहाँ दलित बस्ती छ त्यहाँ दलित नेतृत्व खोजिन्छ, जहाँ महिला छन् त्यहाँ महिला नेतृत्व खोजिन्छ,’ उनले भनिन्, ‘अब महिलालाई केवल कोटा पुर्याउने साधन बनाइने छैन, स्थानीय तहको प्रमुख पदमै जित्न सक्ने गरी टिकट दिने पार्टीको तयारी छ।’
विगतका महाधिवेशनमा महिलालाई शीर्ष पदाधिकारीमा रोक्न खोजिएको स्मरण गर्दै उनले १५ औं महाधिवेशनले पार्टीभित्र ऐतिहासिक ब्रेकथ्रु गरेको बताइन्।
१३ औं र १४ औं महाधिवेशनमा उपसभापति र महामन्त्रीमा महिलाको माग उठ्दा पनि केवल एक जना सह-महामन्त्रीमा सीमित गरिएको उनको भनाइ थियो।
‘विधानमा व्यवस्था नभएको भए आज पनि महिला महामन्त्री हुने अवस्था आउँदैनथ्यो,’ उनले भनिन्, ‘विधान संशोधन गरेर समावेशी संरचनालाई व्यवहारमै उतार्न हामी सफल भएका छौं। यो कांग्रेसको सांगठनिक रूपान्तरणको मुख्य जग हो।’
पार्टीका नवनिर्वाचित सभापति गगन थापासँग आफूले विगतदेखि नै सांगठनिक रूपान्तरणका लागि सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले नेतृत्वलाई सही बाटोमा हिँडाउन आफूले दह्रो भूमिका खेल्ने बताइन्।
‘परिवर्तनको जगमा उभिएर आउनुभएका सभापति गगन थापाले महिला र युवा पुस्ताको भावना बुझ्नुहुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भनिन्, ‘यदि नेतृत्वले बाटो बिरायो वा विधानविपरीत गयो भने पदाधिकारीको रूपमा दबाब दिने र सच्याउने मेरो दायित्व रहन्छ।’
विराटनगरबाट राजनीति सुरु गरेर केन्द्रीय महामन्त्री बनेकी संग्रौलाले अब केन्द्रमा बसेर निर्णय लाद्ने पुरानो शैली भत्काइने बताइन्।
वडा तहका कार्यकर्ता र जनभावनालाई सिधै केन्द्रीय समितिमा जोड्ने संयन्त्र निर्माण गरी कांग्रेसलाई तल्लो तहदेखि नै सशक्त बनाउने उनको दृढता छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।