ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न पारदर्शी मापदण्ड बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोट रूपरेखा तयार पारेको छ।

पार्टीले उम्मेदवार छनोटमा व्यक्तिगत पहुँच, नातासम्बन्ध, आर्थिक हैसियत र नेतृत्वको स्वेच्छाचारी निर्णयको प्रभाव घटाउँदै योग्यता, नैतिकता, जनविश्वास र नेतृत्व क्षमतालाई प्राथमिकता दिने जनाएको छ।

पार्टीको विधानको धारा ६३, ६४ र ६५ मा व्यवस्थित उम्मेदवार छनोटसम्बन्धी व्यवस्था, ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ को मर्मलाई आत्मसात् गर्दै स्थानीय निर्वाचनका लागि रूपरेखा तयार पारिएको रास्वपाले जनाएको छ।

विज्ञापन

रूपरेखामा उम्मेदवार छनोट प्रक्रिया केवल चुनाव जित्ने व्यक्तिको खोजी नभई स्थानीय सरकारलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने नेतृत्व पहिचान गर्ने राजनीतिक प्रक्रिया भएको उल्लेख छ।

नेपाली राजनीतिमा उम्मेदवार छनोट प्रक्रिया विकृत बनेको उल्लेख गर्दै रास्वपाले अन्तिम समयमा उम्मेदवार घोषणा गर्ने, सीमित व्यक्तिको घेराबाट निर्णय लिने, शक्ति सन्तुलनका नाममा अनुचित चलखेल गर्ने तथा पैसा र बाहुबलको प्रभाव पर्ने प्रवृत्तिलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

पार्टीका अनुसार विगतमा उम्मेदवार छनोटमा नागरिकको विश्वास जित्नेभन्दा पार्टी नेतृत्वलाई रिझाउने व्यक्तिहरू हाबी हुने प्रवृत्ति देखिएको छ। स्थानीय तहको निर्वाचनसमेत यसबाट अछुतो रहन नसक्दा कतिपय पालिकाले आफ्नो सम्भावनालाई वास्तविकतामा बदल्न नसकेको रूपरेखामा उल्लेख छ।

‘फरक राजनीति नारामा होइन, आन्तरिक सुशासनमा देखिनुपर्छ’ भन्ने मान्यताका आधारमा अब उम्मेदवार छनोटमा विधि, पद्धति र प्रमाणमा आधारित प्रक्रिया अवलम्बन गर्ने रास्वपाले जनाएको छ ।

१२ वटा उद्देश्य निर्धारण :

रास्वपाले उम्मेदवार छनोट रूपरेखाका १२ वटा विशिष्ट उद्देश्य निर्धारण गरेको छ। तीमध्ये वैज्ञानिक र वस्तुपरक छनोट प्रणाली स्थापना, छनोट प्रक्रियाको पूर्ण दस्तावेजीकरण, नेतृत्व विकास तथा अनिवार्य पूर्वतयारी, स्थानीय आवश्यकता बुझ्ने नेतृत्वको पहिचान र पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढीकरण प्रमुख छन्।

त्यसैगरी महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, युवा तथा पिछडिएको क्षेत्रका नागरिकलाई उम्मेदवारी प्रक्रियामा समान अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।

उम्मेदवारको सार्वजनिक आचरण, इमानदारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता र लोकतान्त्रिक संस्कारलाई छनोटका महत्वपूर्ण आधार बनाइने रूपरेखामा उल्लेख छ।

सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, स्थानीय संरचना, समुदाय र नागरिकसँगको सम्बन्ध, जनस्वीकृति, जनविश्वास तथा निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको समेत परीक्षण गरिनेछ।

रास्वपाले स्थानीय सरकारलाई सुशासन, सेवा प्रवाह, आर्थिक विकास, सामाजिक न्याय, पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण र नागरिक सहभागिताका क्षेत्रमा परिणाममुखी रूपमा अघि बढाउन सक्ने नेतृत्व छनोट गर्ने लक्ष्य राखेको छ।

उम्मेदवारलाई प्रशिक्षण अनिवार्य गर्ने :

रूपरेखाअनुसार उम्मेदवार छनोट प्रक्रियामा प्रवेश गर्नुअघि आकांक्षीहरूलाई स्थानीय शासन, नागरिक सेवा, नीतिनिर्माण, सुशासन, सार्वजनिक वित्त, नागरिक सहभागिता र नेतृत्वका विभिन्न पक्षमा प्रशिक्षण दिने व्यवस्था गरिनेछ।

पार्टीले स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधारसम्बन्धी आवश्यकता बुझ्ने र स्थानीय स्रोतसाधनको प्रभावकारी परिचालन गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ।

त्यस्तै, वडादेखि पालिकासम्मका पार्टी समितिको अधिकार र जिम्मेवारी सन्तुलित गर्दै तल्लो तहबाटै लोकतान्त्रिक, सहभागितामूलक र प्रतिस्पर्धात्मक अभ्यासलाई बलियो बनाउने उद्देश्य राखिएको छ।

उम्मेदवार छनोटका हरेक चरण, मूल्याङ्कन, सिफारिस र निर्णय प्रक्रियाको व्यवस्थित दस्तावेजीकरण गरिने पनि रूपरेखामा उल्लेख छ। यसबाट भविष्यमा कुनै उम्मेदवार किन र कुन आधारमा छनोट भयो भन्ने विषय परीक्षण गर्न सकिने पार्टीको अपेक्षा छ।

संविधान र निर्वाचन कानुनअनुसार निर्वाचनमा भाग लिने :

स्थानीय तहका संरचनालाई चुस्त, प्रभावकारी, मितव्ययी र नागरिकप्रति उत्तरदायी बनाउनुपर्ने मान्यतामा रास्वपा स्पष्ट रहेको रूपरेखामा उल्लेख छ।

नागरिकको अभिमत, तथ्यमा आधारित आवश्यकता र संवैधानिक प्रक्रियाका आधारमा आवश्यक सुधार संविधान संशोधन तथा कानुनसम्मत प्रक्रियाबाट गर्नुपर्ने पार्टीको धारणा छ।

यही नीतिगत स्पष्टताका साथ नेपालको वर्तमान संविधान र प्रचलित निर्वाचन कानुनको दायराभित्र रहेर स्थानीय तह निर्वाचनमा सहभागी हुने रास्वपाले जनाएको छ।

पार्टीले उम्मेदवारको नैतिक, व्यावसायिक र क्षमतागत विकाससँगै उनीहरूलाई संगठनात्मक संरक्षण, भरोसा र अपनत्व प्रदान गर्ने लक्ष्यसमेत राखेको छ। प्रत्येक निर्वाचन चक्रपछि छनोट प्रक्रियाको समीक्षा गरी कमजोरी पहिचान र सुधार गर्दै लैजाने व्यवस्था पनि रूपरेखामा समेटिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।