जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आफूले जापानका अवसर छाडेर नेपाल आएको बताएका छन्। राजदूत बन्ने प्रक्रियामा आफूलाई परीक्षण गर्न तयार रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ भन्ने विश्वासका साथ आएको बताए।
बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले देश परिवर्तन हुँदै गएको अवस्थामा आफूजस्ता व्यक्तिले अवसर पाए दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सक्ने धारणा राखे।
‘म अब नेपालको लागि सेवा गर्छु, देश पनि परिवर्तन हुँदै छ। हामीजस्तो मान्छेले अवसर पायौँ भने नेपाल–जापान जोड्न सकिन्छ कि भनेर मैले सबै छोडेरै आएको हो,’ उनले भने, ‘राजदूत बन्नकै लागि आएको होस् कि भन्नुहुन्छ भने राजदूत बन्ने जाँच भयो भने म जाँच दिन्छु भन्नकै लागि आएको भन्ने कुरा लुकाउन चाहन्नँ।’

सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानको स्थायी आवासीय अनुमति (पीआर) र पारिवारिक अवस्थाबारे प्रश्न उठाएका थिए। जवाफमा उनले जापानको पीआर पाउँदैमा नेपाली नागरिकता नरहने भन्ने बुझाइ गलत भएको दाबी गरे।
‘जापानले सात वर्षको पीआर दिने हो। जापानमा रहेका श्रीमती र छोराछोरीको नेपाली नागरिकता छ, पीआर भिसा हो,’ उनले भने।
आफूलाई पीआरधारी भन्दै सञ्चारमाध्यममा विभिन्न टिप्पणी भइरहेको उल्लेख गर्दै थापाले आफूले तस्बिर खिचाउँदा ढाकाटोपी लगाउने गरेको समेत बताए।
आफ्नो पारिवारिक अवस्थाबारे सांसदहरूले प्रश्न उठाएकोप्रति असन्तुष्टि जनाउँदै उनले परिवारसँगको सम्बन्धलाई लिएर गरिएका टिप्पणीले दुःख लागेको बताए।
‘मेरो परिवारको कुरा निकै उठेको छ। एकजना माननीयज्यूले डिभोर्सको कुरा नै उठाउनुभयो। मलाई दुःख लाग्यो, म आफ्नो परिवार कहिल्यै छाडेर बस्न सक्दिनँ,’ उनले भने।
थापाले जापानमा आफ्नो नाममा कुनै कम्पनी नरहेको र सेयरमा समेत लगानी नगरेको स्पष्ट पारे। जापानमा घर रहेको स्वीकार गर्दै उनले उक्त घर श्रीमतीको स्वामित्वमा रहेको जानकारी दिए।
‘जापानमा मेरो घर छ। चार आना पनि नभएको ठाउँमा घर। घर श्रीमतीको स्वामित्वमा छ,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।