ब्रेकिङ न्युज
विज्ञापन
समाज

तीन सातापछि खुल्यो मनाङको माथिल्लो क्षेत्रको पहुँच

हिमाली जिल्ला मनाङमा असोज दोस्रो साताको बाढीसँगै खसेको पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि डुबेको मोटरेवल पुलमाथि काठ राखेर यातायात सञ्चालन गरिएको छ।

थुप्रिएको ढुंगा, गिट्टी र बालुवा पन्छाएर पुलमुनिबाट पानी बगाउने दुई साताको प्रयास असफल भएपछि पुलको माथिल्लो भागको फलामे बिममाथि काठ राखेर यातायात सुचारु गरिएको हो।

चामे गाउँपालिका–४ र ५ नम्बर जोड्नेगरि मर्स्याङ्दी नदीमाथि फलामे ट्रसको पुल थियो।

विज्ञापन

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठ तेर्स्याएर अस्थायी आवागमन खुलाएपछि मनाङको माथिल्लो क्षेत्रसम्म मोटरको पहुँच खुलेको हो।

पुलमाथिबाट सवारी पार गरेर आउजाउ गर्न थालेपछि माथिल्लो क्षेत्रमा रोकिएका र तलबाट गएका सवारी वारपार गरेका छन्। मंगलबारदेखि यो पुल सञ्चालनमा ल्याइएको उनले बताए।

उनका अनुसार नदीमा करिब ३५ मिटर लामो ट्रस्ट पुल थियो। त्यही ठाउँमा पहिरो झरेपछि बहाव रोकिएर ताल बनेको थियो।

तालको बहाव खुलाए पनि थुप्रिएको ढुंगा, गिट्टी र बालुवाका कारण सतह बढेपछि पुलमाथिबाटै पानी बगिरहेको थियो।

‘थुप्रिएको गेग्रानलाई हटाएर पुलमुनिबाट पानी बगाउने र पुलबाट आउजाउ खुलाउने प्रयास गरिएको हो। तर, जति नै पटक गेग्रान निकालेको भए पनि थपिएर असम्भव भएपछि विकल्पका लागि अस्थायी रूपमा पुलको माथिल्लो खण्डको बिममाथि नै काठ तेर्साएर सवारी खुलाइएको हो,’ प्रजिअ अनालले भने।

हालका लागि साना र हलुका सवारी मात्र पुलबाट ओहोरदोहोर गर्न पाउने उनले बताए। ‘अहिलेका लागि अस्थायी संरचना बनाएर कामचलाउ गरिएको हो। प्राविधिकको सल्लाहमा हल्का गाडी पुलले धान्ने भएपछि यो उपाय लगाइएको हो,’ उनले भने, ‘प्राविधिक टोलीले फलामे बिममाथिको पुलले सवारीको भार थेग्न सक्ने भनेपछि काठ काटेर पुलमा तेर्साएर सवारी सञ्चालनमा ल्याइएको हो।’

पहिरो खसेर नदी थुनिनु अगाडि माथिल्लो भेगमा गएका र पहिरो पछि रोकिएका केही मिनी ट्रक र ट्रयाक्टरलाई रित्तो बनाएर पुल पार गराइएको उनले बताए। तल्लो भेगबाट पनि साना चारपांग्रे जिपसम्मका सवारी मात्र माथि जान पाउने उनले बताए।

‘पुल सञ्चालनमा ल्याउन ढिलाइ गर्दा माथिल्लो भेगमा खाद्य संकट नै आउने अवस्था सिर्जना भयो। तर पुल खुलाउन सकस थपियो। त्यही भएर काठ तेर्साएर भए पनि पुल खुलाउने प्रयास भएको हो,’ उनले भने, ‘पुल नहुँदा पारिका मान्छे सामान किन्न वारि बजारमा आउन समेत पाएनन्। नागरिकलाई सकस थपियो।’

पुलमुनि थुप्रिएको गेग्रान हटाउनका लागि दैनिक चारवटा उपकरण परिचालन गरेको भए पनि सम्भव नभएको उनले बताए।

‘पुलमुनिको गिट्टी निकालेर पहिलेकै तरिकाले सडक खुलाउने प्रयास गरेको भए पनि सम्भव भएन। दुई सातासम्म गरेको प्रयासले सार्थकता पाएन। त्यसले गर्दा यो उपाय लगाएका हौँ,’ उनले भने।

उनका अनुसार त्यहाँको समस्या स्थायी रूपमा समाधान गर्नका लागि बेलीब्रीज राख्ने योजना अघि बढेको छ।

‘जसोतसो पुलमुनिबाट गेग्रान निकाल्यो, भोलिपल्ट बिहान फेरि भरिएर पानी पुलमाथि बग्न थाल्यो। माथिल्लो क्षेत्रमा पर्याप्त मात्रामा थुप्रिएको गेग्रान बग्दै आउँदा समस्या भएको हो,’ उनले भने, ‘दिनहुँ निकाल्दा पनि सकिएन । त्यसैले विकल्प सोचेर यो तरिका अवलम्बन गरिएको हो।’

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पुल नखुल्दा मनाङ सदरमुकाम चामेभन्दा माथिल्लो खण्डका पर्यटकीय बस्तीका लागि खाद्यान्न अभाव हुने सिर्जना हुन थाले पनि विकल्पमा काठ राखेर काम चलाएको बताए।

‘नदीमा यति धेरै ढुंगा, गिट्टी, बालुवा थुप्रिएको रहेछ की निकालेर सम्भव नै भएन। दिनहुँ निकाल्यो, भोलिपल्ट माथिबाट बगेर आएर थुप्रिएपछि हैरानी भयो। पानीलाई पुलमुनिबाट स्थायी रूपमा बगाउने प्रयास असफल भएपछि बिममाथि काठ राखेर पुल खुलाउने प्रयास भएको हो,’ उनले भने।

उनका अनुसार यो पुलले तीन टन क्षमताको भार थेग्न सक्छ। गाडी सहित सामानको भार तीन टन धान्ने भएपछि ठुला आकारका सवारी पार गर्न नसक्ने उनले बताए।

‘अब माथिल्लो क्षेत्रमा बोलेरो जस्ता साना सवारीमा मात्र सामान लैजान सक्ने अवस्था छ। ट्रयाक्टर र ट्रकमा सामान लैजान सकिन्न,’ उनले भने, ‘तीन टन भन्दा बढी भार भएका सवारीलाई अहिले चामे माथि पहुँच छैन।’

त्यही ठाउँमा पहिरो जाँदा २०७८ मा मनाङका नागरिकले लामो सास्ती खेप्नुपरेको थियो। त्यो बेला थुनिएको खोला खुलाएसँगै पुलमुनिबाट पानी बगेपछि पहुँच खुलेको थियो।

तर, यो पटक भने माथिल्लो भेगमा पर्याप्त गेग्रान थुप्रिएकोले नदीले बगाएर ल्याएपछि हटाउन नसकिएको उनले बताए।

यहाँको समस्या समाधानका लागि अलि अग्लो ठाउँमा बेलीब्रिज राख्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष घलेले बताए। पुलको सास्तीले गर्दा अन्नपूर्ण फेरोको पदयात्रामा गएका पर्यटकलाई समस्या परेको थियो।

यतिसम्मकी लाइफ ज्याकेट लगाएका सुरक्षाकर्मीको निगरानीमा पर्यटकलाई फलामे बिमबाटै वारपार गराइएको थियो। मोटरसाइकलमा गएका पर्यटक चामेमै रोकिएका थिए।

अब भने पर्यटक माथिल्लो मनाङ क्षेत्रसम्म सहजै जान सक्ने अवस्था भएको अध्यक्ष घलेले बताए। यो बेला पर्यटकीय सिजन परेकोले पनि मनाङमा आन्तरिक र अन्नपूर्ण फेरोको पदयात्राका लागि गएका पर्यटकको भिडभाड रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।