नारायणगढमा आगामी कात्तिक १४ गते पाँच किलोमिटर दूरीको राइनो दौड प्रतियोगिता आयोजना हुने भएको छ। राइनो क्लब नारायणगढले स्वास्थ्य र खेलकुदको प्रवर्द्धन तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता कात्तिक १४ गते बिहान ८ बजे सुरु हुनेछ। गैंडाकोटस्थित जयश्री पुलबाट सुरु हुने दौड नारायणगढको लीलाचोकमा पुगेर समापन हुने कार्यक्रम संयोजक महेश प्रधानले जानकारी दिए।
प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन दुई सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। दौडमा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेतालाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, निर्धारित ३० मिनेटभित्र पाँच किलोमिटर दौड पूरा गर्ने ५० वर्षमाथिका भेट्रान धावकलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी धावकको सुरक्षालाई ध्यानमा राख्दै एम्बुलेन्स, प्राथमिक उपचार र स्वयंसेवकको व्यवस्था गरिने कार्यक्रम सहसंयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए। दौड मार्गमा यातायात व्यवस्थापन गर्न सम्बन्धित प्रहरी र स्थानीय निकायसँग समन्वय गरिने उनले बताए।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कात्तिक १ गतेदेखि १२ गते अपराह्न ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन्। दर्ताका लागि नारायणगढस्थित श्रीया कोल्ड स्टोर, क्षेत्रपुरस्थित राइनो फिटनेस सेन्टर र लायन्सचोकस्थित शुभ पेट्रोलपम्पमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
राइनो क्लब नारायणगढले लामो समयदेखि खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले युवामा अनुशासन, स्वास्थ्यप्रतिको सचेतना र खेलकुद भावना विकास गर्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएको छ।
क्लबले २०३७ सालदेखि राइनो दौड प्रतियोगिता आयोजना गर्दै आएको थियो। बीचमा रोकिएको प्रतियोगिता अहिले पुनः सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।