नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटका स्थानीयहरू संस्कृति संरक्षणसँगै सामाजिक काममा सक्रिय भएर जुटेका छन्। आत्म कल्याण भजन कीर्तन परिवार निर्माण गरेर स्थानीयले साँझमा दैनिक भजनसँगै संकलन भएको रकमबाट सामाजिक काम गर्दै आएका हुन्।
विसं २०७९ पुसमा गैँडाकोट–१ मिलन टोलबाट सुरुआत भएको कीर्तन अहिले वडा नम्बर १ र २ मा विस्तार भएको छ। खाली समय यत्तिकै बस्नुभन्दा भगवान्को जप गर्दै त्यहाँ संकलन भएको पैसाबाट सामाजिक काम गर्न सकिन्छ भन्ने सुझावअनुसार कीर्तन सुरु गरिएको जमुना कँडेलले बताए। ‘हामीले पाँच वर्ष अगाडि विदुर बुवाको प्रेरणाबाट कीर्तन सुरु गरेका हौँ’ उनले भने ‘प्रस्ताव गर्नुभएको काममा हामी त्यहीँ वरिपरिका दिदीबहिनीहरूले सहमति जनाउँदै कीर्तन गर्न सुरु गरेका थियौँ।’
बेलुका घरधन्दा सकेपछि जम्मा भएर हरेक दिन कम्तीमा एक घण्टा हरेराम, राधा कृष्ण भनेर सङ्कीर्तन गरिने कँडेलले बताए। समूहका सदस्यहरूमध्येबाट कोहीले हार्मोनियम, कोहीले मादल, खैँजडी मृदङ्गा तथा मुजुरा बजाउँदै कीर्तन गर्ने कँडेलको भनाइ छ। हरेक घरमा कीर्तन गर्दा घरभित्रै गरिने र आवश्यकताअनुसार सहभागीहरूले नाचगान समेत गर्ने कँडेलले बताए।

हरेक दिन भजन कीर्तनमा भेला भएपछि सहभागीहरूले हार्मोनियममा नियमित दक्षिण चढाएर कीर्तन सुरुआत गर्दै आएका जमुना लम्सालले बताइन्। कीर्तनमा सहभागीहरूले स्वेच्छाले चढाएको रकम तथा सदस्यहरूको घरमा परेको जन्मदिन एवम् वैवाहिक वर्षगाँठ जस्ता शुभ कार्यमा स्वेच्छाले दिइएको रकमबाट धर्म र संस्कृति संरक्षण गर्न आवश्यक परेको ठाउँमा खर्च हुँदै आएको उनले बताइन्। ‘सुरुआती चरणमा आर्थिक संकलन गरेर गौसंरक्षण गर्ने उद्देश्य बोकेको यस कीर्तन परिवारले अहिले आवश्यकताको आधारमा सहयोग गर्दै आएको छ’ उनले भने, ‘सुरुमा गाईको सेवा गर्ने गरी सुरु गरिएको भए पनि अहिले क्षेत्र बिस्तार गर्दै दैवी प्रकोप परेको स्थान, मन्दिर एवम् आवश्यकता भएको ठाउँमा सहयोग गर्दै आएका छौँ।’
यस समूहले साँझमा हरेक घरमा १५ दिनसम्म कीर्तन गर्ने गरेको समूहकी सदस्य शारदा सिग्देलले बताए। ‘हामी सदस्यहरू पालो गरेर सबैको घरमा पुगी कीर्तन गर्छौँ र कुनै दिन पनि कीर्तन बन्द गर्दैनौँ’ उनले भनिन्, ‘दैनिक कीर्तनबाट संकलन भएको रकममध्ये धर्म र संस्कृति संरक्षणमा खर्च गर्नुका साथै यसपालि भदौमा आएको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत रकम जम्मा छौँ।’
आत्म कल्याण भजन कीर्तन परिवारले दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ३७ हजार आर्थिक सहयोग गरेको सिग्देलको भनाइ छ। कीर्तनमा संकलन भएको रकम दान गर्न जाँदा त्यो रकमबाट दानबाहेक अन्य प्रयोजनमा खर्च नगरिने सिग्देलले बताइन्। ‘संकलन भएको पैसालाई हामीले अरू काममा खर्च गर्दैनौँ” उनले भने, ‘गाडी भाडासमेत हामीले व्यक्तिगत रूपमा तिनेर कीर्तनको पैसा सहयोग गर्न जाने गरेका छौँ।’
समूहकी सदस्य सूर्यकुमारी पौडेलले दैनिक कीर्तनमा कहिलेकाहीँ चार जना मात्र जम्मा हुने भए पनि बढीमा ४० जनासम्म पुग्ने गरेको बताईन। ‘हामीले नियमित रूपमा कीर्तनमा सहभागी हुँदा वैदिक सनातनी संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सहयोग पुग्ने हाम्रो विश्वास छ’ उनले भनिन्, ‘कीर्तनमा जाँदा मनमा शान्ति प्राप्त हुनुका साथै रातिमा राम्रोसँग निन्द्रा लाग्ने गरेको छ।’ सुरुआती चरणमा भरतपुरको बागेश्वरी गौ संरक्षण केन्द्रमा संरक्षित गाईका लागि पराल सहयोग गरेको भए पनि पछिल्लो समय एकमुस्ट रूपमा गुरुकुल, आश्रम तथा गौशालालाई सहयोग गरेको सिग्देलले बताइन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।