इक्वेडरको ग्वायाकिल सहरमा चर्चमा प्रार्थना सभा सञ्चालन गरिरहेका एक पादरीमाथि ठुलो क्रस खस्दा उनको मृत्यु भएको छ।
उक्त घटना प्रत्यक्ष प्रसारण भइरहेको थियो। मृतक पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी हुन्। पर्पेचुओ सोकोरो चर्चका पादरी उनी प्रार्थना सभा सञ्चालन गरिरहेका बेला पछाडि भित्तामा राखिएको ठुलो काठको क्रस अचानक खसेको थियो। घटनाको दृश्य प्रत्यक्ष प्रसारणको करिब २७ औँ मिनेटमा देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। क्रस खसेपछि चर्चमा उपस्थित मानिसहरू आत्तिएका थिए।
ग्वायाकिलको आर्कडायोसिसले आइतबार विज्ञप्ति जारी गर्दै शनिबार पादरीको निधन भएको पुष्टि गरेको हो। विज्ञप्तिमा मोलिनारीले सेन्ट्रल भिकेरियाटअन्तर्गतको आवर लेडी अफ पर्पेचुअल हेल्प चर्चमा पादरीका रूपमा सेवा गरेको उल्लेख छ। संस्थाले उनको परिवार, साथीभाइ र धार्मिक समुदायप्रति समवेदना व्यक्त गरेको छ।

उनी मोस्ट होली रिडिमर धार्मिक समुदायका सदस्य थिए। उनको निधनपछि स्थानीय धार्मिक समुदाय र सामाजिक सञ्जालमा शोक व्यक्त गरिएको छ।
क्रस भित्ताबाट किन खस्यो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन। घटनाको कारण र क्रस जडान गरिएको संरचनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।