क्यानडाको अल्बर्टा प्रान्तस्थित वेनराइट सैन्य अड्डामा शनिबार (स्थानीय समयअनुसार) भएको विस्फोट र त्यसपछि फैलिएको आगोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ।
घटनामा दर्जनौँ घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। स्थानीय सञ्चारमाध्यमले सैन्य स्रोतलाई उद्धृत गर्दै कम्तीमा सात जनाको मृत्यु भएको जनाएका हुन्।
क्यानडाको रक्षा मन्त्रालयका अनुसार शनिबार दिउँसो करिब ४ बजे सैन्य अड्डाको तालिम क्षेत्रमा आगो लागेको थियो। आगो तीव्र गतिमा फैलिँदै सैन्य तालिम क्षेत्रको सीमाबाहिर आसपासका ग्रामीण क्षेत्रमा समेत पुगेको थियो। घटनापछि सैन्य तथा नागरिक उद्धारकर्मी आगो नियन्त्रण र प्रभावितलाई सहयोग गर्न खटिएका थिए।

प्रारम्भिक सञ्चारमाध्यमका रिपोर्टअनुसार सैन्य तालिमका क्रममा ग्यास पाइप वा ग्यासको इनारमा क्षति पुगेपछि विस्फोट भएको हुन सक्ने बताइएको छ। तर, क्यानडाका अधिकारीहरूले घटनाको कारण पुष्टि गरेका छैनन्। रोयल क्यानेडियन माउन्टेड पुलिस र सैन्य अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन्।
क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनामा मानिसहरूको मृत्यु र घाइते भएको पुष्टि गरेका छन्। उनले अवस्थालाई ‘धेरै संवेदनशील’ बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरू काम गरिरहेको र आगामी दिनमा थप जानकारी सार्वजनिक गरिने उनको भनाइ छ।
घाइतेको संख्या बढेपछि सैन्य अड्डानजिकका स्वास्थ्य संस्थाबाट बिरामीलाई करिब १८० किलोमिटर टाढा रहेको एडमन्टन सहरका अस्पतालमा लगिएको थियो। रोयल एलेक्जान्ड्रा अस्पतालका आकस्मिक उपचार विभागका चिकित्सक डा. वारेन थर्स्कले बिरामीको चाप अत्याधिक बढेको बताए। उनले सीबीसी न्यूजसँग कुरा गर्दै घटनालाई १५ देखि २५ वर्षमा एक पटक हुने खालको ठूलो विपत्तिसँग तुलना गरेका छन्।
तीव्र हावाका कारण उद्धारकर्मीलाई आगो नियन्त्रणमा लिन कठिन भएको थियो। अल्बर्टाका विभिन्न क्षेत्रमा प्रतिघण्टा १०० किलोमिटरसम्मको गतिमा हावा चलेको थियो। शनिबार राति ११ बजेसम्ममा वेनराइटको स्थानीय प्रशासनले आगो नियन्त्रणमा रहेको र सम्पत्ति तथा महत्वपूर्ण पूर्वाधार सुरक्षित रहेको जनाएको छ। स्थानीय बासिन्दालाई भने घर छाड्नुपर्ने आदेश जारी गरिएको छैन।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाबाट प्रभावित सैन्य कर्मचारी तथा अन्य व्यक्तिप्रति सहानुभूति व्यक्त गरेका छन्। अल्बर्टाकी मुख्यमन्त्री डानियल स्मिथले घटनालाई गम्भीर र दुःखद भनिन्। छिमेकी सास्काचेवान प्रान्तका मुख्यमन्त्री स्कट मोले पनि अल्बर्टामा सहयोग पठाइरहेको बताएका छन्।
वेनराइट सैन्य अड्डा क्यानडाका व्यस्त सैन्य तालिम केन्द्रमध्ये एक हो। यहाँ सैनिकलाई सैन्य अभियानका लागि तयार पारिन्छ। घटनाका कारण अल्बर्टामा क्यानडाबाट अलग हुने प्रक्रिया अघि बढाउने विषयमा सोमबार हुने जनमतसंग्रहको अग्रिम मतदानसमेत प्रभावित भएको छ। लोयडमिन्स्टर र भर्मिलियनका दुई मतदान केन्द्र शनिबार चाँडै बन्द गरिएका थिए।
क्यानडाको रक्षा मन्त्रालयले मृतक तथा घाइतेको यकिन संख्या र घटनाको कारण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।