भारतको मध्य प्रदेशस्थित ग्वालियरमा तीव्र गतिमा आएको ट्रकले श्रद्धालुहरूको भीडलाई किच्दा ११ जनाको मृत्यु भएको छ भने करिब २९ जना घाइते भएका छन्।
ग्वालियरको शीतला माता मन्दिरनजिक शनिबार र आइतबारको मध्यरात करिब १ः३० बजे दुर्घटना भएको हो। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार ट्रक चीनोरतर्फबाट मन्दिरतर्फ आइरहेको थियो। बाटोमा ट्रक अनियन्त्रित भई लगातार बायाँतर्फ मोडिँदै गएको थियो।

त्यस क्रममा ट्रकले सडक छेउमा रहेका पसलहरूलाई किच्दै शीतला माता मन्दिरको प्रवेशद्वारमा ठक्कर दिएको थियो। ठक्करका कारण मन्दिरको पर्खाल भत्किएको र ४० देखि ५० जना भग्नावशेषमा पुरिएको जिल्ला अधिकारी चौहानले बताएकी छन्।
उनका अनुसार नवरात्रिका बेला उक्त सडकमा अवरोधक र प्रहरी जाँचचौकीसमेत राखिएका थिए। यस्तो अवस्थामा ट्रक मन्दिर परिसरभित्र कसरी प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
ट्रकको प्राविधिक जाँच गरी दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय यातायात कार्यालयको टोलीसमेत घटनास्थलमा पठाइएको छ।
जिल्ला प्रशासनका अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान जारी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।