जापानकी प्रधानमन्त्री साने ताकाइचीले घरायसी काम र मेकअपका कारण पुरुष पूर्वप्रधानमन्त्रीको तुलनामा दैनिक तीनदेखि चार घण्टा बढी समय खर्च हुने बताएकी छन्।
उनको यो भनाइपछि जापानमा लैंगिक समानता, महिलाको जिम्मेवारी र काम गर्ने संस्कृतिबारे बहस सुरु भएको छ।
गत बुधबार संसद्मा बोल्दै ताकाइचीले बिहान नुहाउने, ब्रेकफास्ट तयार गर्ने, भाँडा माझ्ने र मेकअप गर्नुपर्ने भएकाले आफ्नो दिनचर्यामा थप समय लाग्ने बताएकी हुन्।

‘बिहान म नुहाउँछु, ब्रेकफास्ट तयार गर्छु र भाँडा माझ्छु। त्यसपछि मेकअप गर्छु। यी काम गर्दा पुरुष प्रधानमन्त्रीको तुलनामा तीनदेखि चार घण्टा बढी समय खर्च भइरहेको जस्तो लाग्छ,’ उनले भनिन्।
सो अवसरमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुअघि मेकअप मिलाउन र क्यामेराअगाडि प्रस्तुत हुन पनि थप समय चाहिने उनले सुनाइन्।
उनका अनुसार यो कुरा बुझ्न उनका सहयोगीलाई समेत केही समय लागेको थियो। तर, उनको भनाइले सामाजिक सञ्जालमा आलोचना पनि हुँदैछ। जापानमा महिलाले घरायसी कामसँगै बालबालिका हुर्काउने र वृद्ध अभिभावकको हेरचाह गर्ने जिम्मेवारीसमेत सम्हाल्नुपर्ने भन्दै धेरैले उनको टिप्पणीमाथि प्रश्न उठाएका छन्।
जापानको सरकारी तथ्यांकअनुसार महिलाले दैनिक घरायसी काममा औसत पाँच घण्टा बिताउँछन् भने पुरुषले करिब ४० मिनेट मात्र खर्च गर्छन्। यस्तो असमान जिम्मेवारी र लामो कार्यसमय जापानमा लैंगिक समानताको प्रमुख चुनौती मानिन्छ।
वकिल फुसाको मिवाले काम पूरा गर्न पुरुषको तुलनामा बढी समय लाग्नु समस्या नभए पनि मेकअपका लागि समय चाहिने कुरालाई बहानाका रूपमा प्रस्तुत गर्नु उचित नभएको टिप्पणी गरेकी छन्।
ताकाइचीले यसअघि पनि आफ्नो व्यस्त कार्यतालिका र कम निद्राबारे बताएकी थिइन्। उनले राति अबेरसम्म सरकारी कागजात पढ्ने गरेको र देशको भविष्यबारे सोच्न पर्याप्त समय निकाल्न कठिन हुने बताएकी छन्।
यसैबिच, प्रधानमन्त्रीको कार्यभार व्यवस्थापन गर्न आधिकारिक निवासमा भान्से र अन्य घरेलु कर्मचारी राख्ने प्रस्तावसमेत अघि सारिएको छ। जापान इनोभेसन पार्टीका अधिकारी फुमिताके फुजिताले प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा बिताउनुपर्ने लामो समय घटाउनुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार सन् २०२२ मा जापानका प्रधानमन्त्रीले ७२ दिन संसदीय सत्रमा बिताएका थिए। त्यही अवधिमा बेलायतका प्रधानमन्त्रीले ५० दिन र जर्मनीका चान्सलरले १३ दिन संसदीय सत्रमा भाग लिएका थिए। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।