कतारका उपप्रधानमन्त्री शेख साउद बिन अब्दुलरहमान अल थानीले इरानसँगको अमेरिका-इजरायल युद्धका कारण विश्वव्यापी ऊर्जा संकट अझै गहिरिन सक्ने चेतावनी दिएका छन्।
उनले ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र आर्थिक वृद्धिमा आगामी दिन तथा महिनामा थप असर पर्न सक्ने बताएका हुन्।
सोमबार दोहामा आयोजित ग्लोबल सेक्युरिटी फोरममा बोल्दै उनले कतार र खाडी क्षेत्रले ऊर्जा आपूर्तिमा अवरोध तथा सुरक्षासम्बन्धी चुनौती सामना गरिरहेको बताए। ‘हामी ऊर्जा संकटको चरम बिन्दुमा पुगेका छैनौँ,’ उनले भने।

फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि तथा इरानले क्षेत्रका विभिन्न स्थानमा जवाफी हमला गरेपछि होर्मुज जलमार्गमा अस्थिरता बढेको छ। विश्वको तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानीका लागि यो महत्त्वपूर्ण समुद्री मार्ग हो। मार्चमा कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी आक्रमणबाट ग्यास उत्पादनका पूर्वाधारमा क्षति पुगेको थियो। ती संरचनाको मर्मत गर्न वर्षौं लाग्न सक्ने अनुमान गरिएको छ।
आक्रमणबारे बोल्दै अल थानीले कतार आश्चर्यमा परेको बताए। ‘हामी छक्क पर्यौँ,’ उनले भने। त्यसयता इरानसँग धेरै चरणमा छलफल भएको पनि उनले जानकारी दिए। कतारले भविष्यमा हुन सक्ने अप्रत्याशित आक्रमणबाट आफ्ना महत्त्वपूर्ण पूर्वाधार सुरक्षित राख्न आवश्यक पाठ सिकेको उनको भनाइ छ।
उनले होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजमा शुल्क लगाउन नहुने बताए। ‘पारवहन शुल्क लगाउनु हुँदैन,’ उनले भने। उक्त समुद्री मार्गमा अवरोध भए त्यसको असर विश्वभरका उपभोक्ताले भोग्नुपर्ने चेतावनी समेत उनले दिए।
थानीका अनुसार आक्रमणपछि पनि कतारले इरानसँग संवाद जारी राखेको छ। ‘हामीले संवाद कहिल्यै रोक्दैनौँ,’ उनले थप भने। साझा ग्यास क्षेत्र र लामो समयदेखिका आर्थिक हितका कारण दुई देशबिच विगतमा विश्वासमा आधारित सम्बन्ध रहेको उनको भनाइ थियो।
सो अवसरमा उनले कतार, पाकिस्तान र ओमानले गरिरहेका मध्यस्थता प्रयासले अमेरिका, इरान र इजरायलबिच सहमति कायम गर्न सहयोग पुग्ने आशा पनि व्यक्त गरेका छन्। दिगो समाधानका लागि खाडी सहयोग परिषद्का सदस्य देश, पाकिस्तान र टर्कीसहित अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरेर व्यापक क्षेत्रीय संवाद अघि बढाउनुपर्ने उनको भनाइ छ। ‘हामीले विश्वासको आधार निर्माण गर्नुपर्छ,’ उनले भने।
फ्रान्स र जर्मनीबिच दशकौँको शत्रुतापछि विकसित सहकार्यको उदाहरण दिँदै अल थानीले इरानसँग पनि आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने बताए। ‘इरान हाम्रो छिमेकी हो। हामीले मिलेर बस्ने उपाय खोज्नुपर्छ,’ उनले भने।
अमेरिकासँगको रक्षा सहकार्यबारे बोल्दै उनले कतारले पछिल्ला तीनदेखि चार दशकमा विकास गरेको सैन्य क्षमता र साझा विशेषज्ञताका कारण ९० प्रतिशतभन्दा बढी आक्रमण रोक्न सफल भएको दाबी गरे। कतारले अमेरिकी सेना र साझेदार देशका सैनिक तैनाथ रहेको अल उदेइद हवाई सैन्य अड्डाको विकासलाई निरन्तरता दिने पनि उनले बताए। द्वन्द्वका क्रममा इरानले उक्त सैन्य अड्डालाई समेत निशाना बनाएको थियो।
कतारले हवाई रक्षा, ड्रोन प्रतिरोधी प्रणाली र साइबर सुरक्षालाई प्राथमिकता दिँदै नयाँ क्षेत्रीय रक्षा साझेदारी अघि बढाउन लागेको उनले जानकारी दिए। ‘म आज यो घोषणा गर्न पाउँदा खुसी छु कि हामी चाँडै नयाँ साझेदारीको घोषणा गर्नेछौँ,’ थानीले भने। यद्यपि, उनले साझेदारीमा सहभागी हुने देशको नाम भने खुलाएनन्।
उनले मध्यस्थताको प्रयास गर्नुको अर्थ कतारले आफ्नो सुरक्षामा ध्यान नदिने भन्ने नभएको स्पष्ट पारेका छन्। ‘मध्यस्थता गर्नुको अर्थ हामी आफ्नो रक्षा गर्न तयार हुनुहुँदैन भन्ने होइन,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।