ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

फ्रान्समा प्रदर्शन : एक हजार ८०० बढी पक्राउ, ट्रम्पले उठाए आप्रवासनको मुद्दा

फ्रान्समा बढ्दो महँगी, कमजोर विद्यालय सुविधा र सरकारी नीतिको विरोधमा भएका प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी मानिस पक्राउ परेका छन्।

प्रदर्शनका क्रममा विभिन्न सहरमा पसल लुटपाट, सार्वजनिक भवनमा आगजनी र प्रहरीसँग झडप भएका छन्। घटनामा ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका छन्।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार शनिबार भएका प्रदर्शनमा देशभर करिब पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। आयोजकहरूले भने करिब ८ लाख मानिस सहभागी भएको बताएका छन्। विद्यार्थी, रेल कर्मचारी, ट्रेड युनियन र पहेँलो भेस्ट आन्दोलनका सदस्य प्रदर्शनमा सहभागी भएका थिए।

विज्ञापन

विद्यालयको कमजोर अवस्था र शैक्षिक असमानताको विरोधमा उच्च माध्यमिक तहका विद्यार्थीले सुरु गरेको आन्दोलन विस्तारै बढ्दो महँगी, सार्वजनिक सेवामा कटौती र सरकारी नीतिप्रतिको असन्तुष्टिमा परिणत भएको हो। धेरै सहरमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा हिंसा, लुटपाट र तोडफोड भएका थिए।

मध्य फ्रान्सको लिमोजेस सहरमा रहेको १९औं शताब्दीको सिटी हलमा आगलागी हुँदा छाना भत्किएको थियो। अधिकारीहरूले आगो जानाजानी लगाइएको बताएका छन्। मार्सेलीमा प्रदर्शनकारीको समूह सिटी हलभित्र प्रवेश गरेको थियो भने लियोनमा पर्यटक कार्यालयमा आगलागी भएको थियो। पेरिससहित विभिन्न सहरमा पसल र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।

खुद्रा तथा व्यापार महासंघका अध्यक्ष अलेक्जान्द्रे बोम्पार्डका अनुसार करिब एक हजार ५०० पसल तथा खुद्रा व्यवसायमा क्षति पुगेको छ। क्षतिको लागत करोडौं युरो पुग्न सक्ने भए पनि यकिन विवरण आउन बाँकी रहेको उनले बताएका छन्।

पेरिस प्रहरीका अनुसार राजधानी क्षेत्रमा मात्रै ८५५ जना पक्राउ परेका छन्। त्यसमध्ये ५५७ जनालाई प्रहरी हिरासतमा राखिएको अभियोजन कार्यालयले जनाएको छ। प्रदर्शनका क्रममा एक व्यक्तिको हृदयाघातका कारण मृत्यु भएको विवरण पनि सार्वजनिक भएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा भएको हिंसालाई आप्रवासनसँग जोड्दै सीमा नियन्त्रण कडा बनाउन आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘फ्रान्स जलिरहेको छ! पूर्णतया फरक संसारबाट आएका मानिसहरूको आप्रवासनले कुनै समयको महान् देशलाई चकनाचुर पारेको छ।’

उनले थप लेखेका छन्, ‘धेरै ढिलो हुनुअघि आफ्ना सीमा बन्द गर्नुहोस् र नियन्त्रण लिनुहोस्।’

तर फ्रान्सेली अधिकारीहरूले प्रदर्शनका क्रममा भएको हिंसालाई आप्रवासीसँग जोड्ने प्रमाण सार्वजनिक गरेका छैनन्। गृहमन्त्री नुनेजले हिंसामा कट्टरपन्थी वामपन्थी समूह र लुटपाटमा संलग्न व्यक्तिहरूको भूमिका रहेको बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार र हिंसात्मक गतिविधिबिच फरक रहेको पनि स्पष्ट पारेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाबारे छलफल गर्न उच्च सरकारी अधिकारीहरूसँग आपत्कालीन बैठक गर्ने र राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ।

पेरिसका मेयर इमानुएल ग्रेगोइरले क्षतिको मूल्यांकन गर्न र प्रभावित व्यवसायलाई सहयोग गर्न आपत्कालीन एकाइ गठन गर्ने घोषणा गरेका छन्। उनले क्षति ठुलो भएको बताउँदै पेरिस स्वतन्त्र अभिव्यक्ति र प्रदर्शनको सहर भए पनि नागरिकले सुरक्षित रूपमा बस्न र व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताएका छन्।

फ्रान्सका विभिन्न राजनीतिक दलका नेताहरूले घटनाबारे एक अर्काको आलोचना गरेका छन्। अति-दक्षिणपन्थी नेतृ मरीन ले पेनले प्रदर्शनका क्रममा भएको तोडफोड र प्रहरीमाथिको आक्रमणको आलोचना गरेकी छन्। वामपन्थी नेता जाँ-लुक मेलँसोंले भने लुटपाट र विनाशमा संलग्न व्यक्तिहरू आफ्नो आन्दोलनको हिस्सा नभएको बताएका छन्।

पेरिस, मार्सेली र लियोनका मेयरहरूले क्षतिको अवस्था र घटनाको गम्भीरताबारे छलफल गर्न प्रधानमन्त्रीसँग भेटको माग गरेका छन्। प्रदर्शनपछि फ्रान्समा सार्वजनिक सुरक्षा, जीवनयापनको लागत र सरकारी नीतिबारे बहस थप चर्किएको छ। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।