अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध अमेरिकाका विभिन्न सहरमा शनिबार (स्थानीय समयअनुसार) ‘नो किंग्स’ प्रदर्शन भएका छन्।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि आयोजित प्रदर्शनमा सहभागीले नागरिकलाई चाँडै मतदान गर्न र आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्। वासिङ्टन डिसी, न्युयोर्क, एटलान्टा, लस एन्जलससहित अमेरिकाका विभिन्न सहरमा प्रदर्शन तथा अन्य कार्यक्रम भएका थिए।
यस पटकको अभियानमा अघिल्ला प्रदर्शनमा जस्तै ट्रम्पको नेतृत्व र नीतिप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै निर्वाचनमा नागरिकको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइएको थियो। आयोजकहरूले मतदाता दर्ता जाँच गर्न, प्रारम्भिक मतदानको सुविधा उपयोग गर्न र मतदान प्रक्रियाबारे जानकारी लिन आग्रह गरे।

वासिङ्टनस्थित लिंकन मेमोरियलमा भेला भएका प्रदर्शनकारीले ‘चाँडै मतदान गर्नुहोस्’ र ‘मेरो मतमाथि हस्तक्षेप नगर’ लेखिएका प्लेकार्ड बोकेका थिए। चिसो मौसमका बाबजुद सहभागीले संगीतमा रमाउँदै मतदानसम्बन्धी सन्देश फैलाएका हुन्।
एटलान्टामा आयोजित कार्यक्रममा नगर परिषद् सदस्य माइकल जुलियन बन्डले मतदानको महत्वबारे बोलेका थिए। ‘संविधानले तपाईंलाई एउटा शक्ति दिएको छ, त्यो हो मतदान गर्ने शक्ति। के तपाईं त्यो शक्ति प्रयोग गर्नुहुन्छ ?’ उनले सहभागीलाई प्रश्न गरे।
उनले मतदानलाई नागरिकको अधिकार र जिम्मेवारीका रूपमा लिन आग्रह गर्दै निर्वाचनमा सहभागी हुन र अरुलाई पनि मतदानका लागि प्रेरित गर्न आह्वान गरेका हुन्।
नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेसका दुवै सदनको शक्ति सन्तुलन महत्त्वपूर्ण विषय बनेको छ। जीवनयापनको बढ्दो लागत, अर्थतन्त्र, आप्रवासन नीति र इरानसँगको युद्धलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेका बेला निर्वाचन हुन लागेको हो।
‘नो किंग्स’ अभियानमा सहभागीले सरकारको शक्ति र राष्ट्रपतिको अधिकारमाथि निगरानी आवश्यक रहेको बताएका छन्। आयोजकहरूले अभियानलाई गैरदलीय नागरिक सहभागिताका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा बढीभन्दा बढी नागरिक सहभागी गराउने लक्ष्य राखे।
यसैबिच, अमेरिकामा हुलाकमार्फत मतदान गर्ने प्रक्रियालाई लिएर विवाद बढेको छ। ट्रम्पले लामो समयदेखि हुलाक मतदानप्रति शंका व्यक्त गर्दै आएका छन्। उनको प्रशासनले क्यालिफोर्नियामा संघीय सरकारले सम्भावित गैरनागरिक मतदाता ठानेका व्यक्तिका हुलाकबाट आएका मतपत्रको गणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।
अमेरिकी न्याय मन्त्रालयले पनि शंकास्पद गैरनागरिक मतदाताका मतपत्र प्रशोधन गर्ने अधिकारीमाथि अनुसन्धान हुन सक्ने चेतावनी दिएको छ। यसप्रति डेमोक्रेटिक पार्टीका केही सिनेटरले निर्वाचनअघि मतपत्र वा निर्वाचन सामग्री नियन्त्रणमा नलिन सरकारसँग आग्रह गरेका छन्।
आयोजकहरूले निर्वाचनमा नागरिकको सहभागिता बढाउन, मतदानसम्बन्धी जानकारी फैलाउन र मताधिकारको सुरक्षामा जोड दिन देशभर कार्यक्रम आयोजना गरेका हुन्। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।