भारतीय जनता पार्टी (भाजपा) सांसद तथा बलिउड अभिनेत्री कंगना रनौतले भोजपुरी लोकगायिका नेहा सिंह राठौरबारे एक न्युज च्यानलले गरेको कभरेजको आलोचना गरेकी छन्।
टेलिभिजन रेटिङ (टीआरपी) बढाउन महिलाको प्रतिष्ठामा आँच पुर्याउनु लज्जास्पद भएको उनले बताएकी छन्। राठौरका राजनीतिक विचार र अभिव्यक्ति आफ्ना विचारसँग नमिले पनि उनलाई बदनाम गर्ने कार्य उचित नभएको कंगनाले बताएकी हुन्।
राठौरले यस विषयमा कंगनासहित भाजपा महिला नेताहरूसँग प्रतिक्रिया मागेकी थिइन्। राजनीतिक विचार फरक भए पनि महिला भएकाले अर्को महिलाको प्रतिष्ठामा आँच पुग्दा बोल्नुपर्ने उनको आग्रह थियो। सोही पोस्टको जवाफ दिँदै कंगनाले न्युज नेटवर्कका प्रमुखले घटनाको जिम्मेवारी लिनुपर्ने बताएकी छन्।

कंगनाले लेखेकी छन्, ‘नेहा जी, तपाईंका राजनीतिक विचार र अभिव्यक्ति मेरा विचारभन्दा फरक छन् र मलाई स्वीकार्य छैनन्। तर, टीआरपीका लागि कुनै पनि महिलालाई बदनाम गर्नु निकै लज्जास्पद कुरा हो। एबीपीका प्रमुखले यसको जिम्मेवारी लिनुपर्छ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गर्दै आएकी राठौरले एक न्युज च्यानलले आफूविरुद्ध मानहानि हुने र तथ्यगत रूपमा गलत सामग्री प्रकाशित गरेको आरोप लगाएकी थिइन्। उक्त समाचारमा राठौरले होस्टल सञ्चालन गरिरहेको र त्यहाँ वेश्यावृत्ति हुने गरेको दाबी गरिएको थियो। समाचारमा आफ्नो प्रतिष्ठामा आँच पुग्ने गरी प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाएकी थिइन्। राठौरले आफूलाई चुप लगाउने प्रयास भएको आरोपसमेत लगाएकी थिइन्।
राठौरको आरोपपछि नेटवर्कले सामाजिक सञ्जाल एक्समार्फत माफी मागेको थियो। नेटवर्कले आफ्नो डिजिटल प्लेटफर्ममा प्रकाशित राठौरसम्बन्धी समाचार तथ्यगत रूपमा गलत भएको स्वीकार गर्दै खेद व्यक्त गरेको थियो। तर, राठौरले माफी पर्याप्त नभएको बताएकी छन्। उनका अनुसार समाचार प्रकाशित भएपछि माफी माग्दैमा पुगेको क्षतिको भरपाइ हुँदैन।
राठौरले उक्त घटनाले आफ्नो मानसिक स्वास्थ्यमा समेत असर पारेको बताउँदै कानुनी प्रक्रिया अघि बढाउने संकेत गरेकी छन्। उनले ‘मलाई माफी होइन, न्याय चाहिएको हो’ भन्दै यो विषय अदालतसम्म लैजाने बताएकी छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।