इरानले ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न अमेरिकासमक्ष प्रस्तुत गरेको सात दिने प्रस्ताव अझै कायम रहेको जनाएको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दिएको जवाफको समीक्षा भइरहेको बताउँदै प्रस्ताव कार्यान्वयन गर्ने वा नगर्ने निर्णय वासिङ्टनको हातमा रहेको बताएका हुन्। आइतबार इरानको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनी इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी हुन पुगेका थिए।
इरानले अन्तरिम युद्धविराम भंग भएपछि सेप्टेम्बरको मध्यतिर अमेरिका समक्ष सात दिने योजना प्रस्तुत गरेको थियो। अमेरिकाले उक्त प्रस्तावको जवाफ दिए पनि इरानका सबै सर्त सम्बोधन नभएको भन्दै वार्ता रोकिएको छ। अराघचीले अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा भइरहेको र प्रस्ताव अझै छलफलका क्रममा रहेको बताए। अमेरिकाले इमानदारीपूर्वक पहल गरे होर्मुज जलमार्ग खोल्ने बाटो स्पष्ट रहेको उनको भनाइ थियो।

इरानले अघि सारेका सर्तमा आफ्ना बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी हटाउनुपर्ने, इरानी तेल निर्यातमाथिका प्रतिबन्ध फुकुवा गर्नुपर्ने र क्षेत्रीय मोर्चामा जारी शत्रुतापूर्ण गतिविधि अन्त्य गर्नुपर्ने विषय समावेश छन्।
अराघचीका अनुसार अमेरिकाले इरानका सर्त स्वीकार गरे छैटौँ दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिनेछ भने सातौँ दिनमा दुई देशबिच वार्ता पुनः सुरु हुनेछ।
दुई देशबिचको मुख्य मतभेदमध्ये एक इरानको आणविक कार्यक्रम हो। अमेरिकाले वार्ताको सुरुदेखि नै इरानको युरेनियम प्रशोधन क्षमतामा उल्लेख्य कटौती गर्नुपर्ने माग गर्दै आएको छ। तर इरानले सुरुमा होर्मुज जलमार्ग खोल्ने र त्यस क्षेत्रमा सुरक्षित जलयातायात पुनर्स्थापना गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताउँदै आएको छ।
युद्ध सुरु हुनुअघि विश्वको करिब पाँच भागको एक भाग तेल तथा ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो। त्यसैले होर्मुजमा अवरोध कायम रहँदा विश्व ऊर्जा आपूर्ति र बजारमा असर परिरहेको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।