फ्रान्समा महँगी, कमजोर सार्वजनिक सेवा र विद्यालयको अवस्थालाई लिएर भएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री लरेन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन्।
देशका विभिन्न सहरमा लुटपाट, आगजनी र तोडफोड भएपछि राजीनामा दिएका नुनेजलाई पदमै रहन आग्रह गर्दै म्याक्रोनले सुरक्षा व्यवस्थापनमा भएका कमजोरीबारे स्पष्ट जानकारी दिन निर्देशन दिएका छन्। प्रदर्शनका क्रममा झन्डै दुई हजार ४०० मानिस पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी र सुरक्षा अधिकारी घाइते भएका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार मात्रै देशभर करिब ६० हजार प्रहरी तथा सुरक्षा अधिकारी परिचालन गरिएको थियो। तर, ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएपछि केही सहरमा अवस्था नियन्त्रणबाहिर गएको गृहमन्त्री नुनेजले स्वीकार गरेका छन्।

म्याक्रोनले सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने अवस्था रहेकाले नुनेजको राजीनामा अस्वीकार गरेका हुन्। उनले हिंसा रोक्न तत्काल नयाँ सुरक्षा रणनीति अपनाउन र प्रदर्शनका क्रममा पूर्वतयारी तथा सूचना संकलनमा कहाँ कमजोरी भयो भन्ने विषयमा स्पष्ट जानकारी दिन निर्देशन दिएका छन्।
यसअघि आइतबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै म्याक्रोनले हिंसात्मक घटनाप्रति आक्रोश र लज्जा व्यक्त गरेका थिए। उनले शान्तिपूर्ण प्रदर्शनकारीका जायज माग र तोडफोड तथा लुटपाटमा संलग्न समूहलाई एउटै रूपमा हेर्न नहुने बताए। हिंसामा संलग्नलाई जवाफदेही बनाउने पनि उनले बताएका छन्।
फ्रान्समा पछिल्ला केही सातादेखि विद्यार्थीले विद्यालयमा कक्षाकोठाको अभाव, शिक्षकको कमी र शिक्षामा पर्याप्त लगानी नभएको भन्दै प्रदर्शन गर्दै आएका थिए। शनिबारको प्रदर्शनमा महँगी, बढ्दो जीवनयापन खर्च र सार्वजनिक सेवाको कमजोर अवस्थाप्रति असन्तुष्ट नागरिक पनि सहभागी भए।
प्रदर्शनका क्रममा केही समूहले सरकारी भवन, प्रहरी कार्यालय र पसलमा तोडफोड गरेका थिए। लिमोज सहरको ऐतिहासिक नगर भवनमा आगजनी भएको छ भने पेरिस, लियोन र मार्सेईलगायत सहरमा पसल लुटिएका र भवनमा क्षति पुगेको छ। पेरिसका मेयरसहित प्रमुख सहरका मेयरहरूले सुरक्षा निकायको तयारी कमजोर भएको भन्दै सरकारसँग जवाफ मागेका छन्।
आइतबार पनि केही स्थानमा लुटपाट र आगजनी जारी रहेपछि प्रहरीले अश्रुग्यास र भीड नियन्त्रणका उपकरण प्रयोग गरेको थियो। पेरिसमा आइतबार र रातभर गरी करिब ३५० जना पक्राउ परेको गृहमन्त्रीले बताएका छन्। मार्सेईमा थप हिंसा रोक्न सार्वजनिक भेला र प्रदर्शनमा अस्थायी प्रतिबन्धसमेत लगाइएको छ।
देशभित्र प्रदर्शन र सुरक्षा व्यवस्थापनबारे प्रश्न उठिरहेका बेला म्याक्रोन सोमबार कुवेत पुगेका छन्। तीन दिने भ्रमणमा उनले कुवेतपछि संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कतार जाने कार्यक्रम छ। बुधबारसम्म हुने भ्रमणको मुख्य उद्देश्य इन्धन आपूर्ति सुरक्षित गर्नु, तेल तथा डिजेलको उपलब्धता बढाउनु र इन्धनको मूल्य घटाउन सहयोग पुर्याउनु रहेको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
इरान युद्धपछि ऊर्जा आपूर्ति र मूल्यमा परेको दबाबबिच फ्रान्सले वैकल्पिक आपूर्ति स्रोत खोजिरहेको छ। म्याक्रोनको खाडी भ्रमण यसै प्रयासको हिस्सा हो। इन्धनको मूल्यवृद्धि पनि फ्रान्समा प्रदर्शनकारीले उठाएका प्रमुख मुद्दामध्ये एक बनेको छ।
प्रदर्शन र हिंसाको असर फ्रान्सको अर्थतन्त्रमा पनि देखिएको छ। सोमबार फ्रान्सेली सेयर बजारमा गिरावट आएको छ भने सरकारी ऋणपत्रको प्रतिफल बढेको छ। सरकारलाई सुरक्षा व्यवस्थापनका कमजोरीसँगै महँगी र सार्वजनिक सेवासम्बन्धी नागरिकका माग सम्बोधन गर्न दबाब बढेको छ।
यसैबिच, फ्रान्सका विभिन्न मजदुर संगठनले आगामी नोभेम्बर ५ मा थप देशव्यापी हडताल र प्रदर्शन गर्ने घोषणा गरेका छन्। त्यसले सरकारमाथिको दबाब अझ बढाउन सक्ने देखिएको छ। एजेन्सीको सहयोगमा


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।