ब्रेकिङ न्युज
विज्ञापन
समाज

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दशैं आँसुमा

घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दशैंको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दशैं खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।

बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दशैंले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उनलाई पर्व मनाउने जाँगर छैन । आँखाभरि आँसु पार्दै उनले भनिन्, “दशैं आएको छ, तर परिवारमा कुनै खुसी छैन ।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दशैं मनाउन नसकेको उनले बताइन । विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दशैं सम्झँदा अहिले मन झन् भारी हुने उनको भनाइ छ ।

सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता भएका छन् । उनकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहेकी छन् । “रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दशैं कसरी मनाउने ?” उनले भनिन् । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दशैं बिताउने उनले बताइन ।

विज्ञापन

सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए । पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताए । आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दशैंको रौनक नरहेको उनले बताए।

राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दशैं मनाउन गाउँ फर्किन्थे । गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दशैंको रौनक नरहेको बताए । “दशैं आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,” उनले भने । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ । बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताइन । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।

राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि ५० हजारसम्म सहयोग गर्न सक्ने उनले बताए ।

बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गरे । उनका अनुसार राजु काममा गएको ज्यालासमेत पाएका छैनन् । “यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उनले भने । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उनको गुनासो छ ।

भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् । शम्भुप्रसाद थारु/रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।