उत्तर कोरियाका दुई युद्धबन्दीलाई दक्षिण कोरिया पठाएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनस्थित आफ्नो दूतावासका केही कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार युद्धबन्दी स्थानान्तरणबारे विवाद समाधान गर्न युक्रेनले सकारात्मक कदम नचालेपछि कर्मचारी फिर्ता बोलाउने निर्णय गरिएको हो। युक्रेनमा रूसका हवाई आक्रमण बढिरहेकाले त्यहाँ कार्यरत कर्मचारीको सुरक्षामा पनि चिन्ता बढेको मन्त्रालयले जनाएको छ।
विवाद गत सेप्टेम्बर २३ मा सुरु भएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा उत्तर कोरियाका दुई युद्धबन्दीलाई दक्षिण कोरिया पठाइएको खुलासा गरेका थिए। दक्षिण कोरियाले उक्त विषय गोप्य राख्ने सहमति भएको दाबी गर्दै युक्रेनले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। तर युक्रेनले त्यस्तो सहमति नभएको बताउँदै आएको छ।

दक्षिण कोरियाले यसअघि नै विरोधस्वरूप युक्रेनका लागि आफ्ना राजदूत पार्क की-चाङलाई स्वदेश फिर्ता बोलाइसकेको छ। राजदूत फिर्ता बोलाउँदा पनि विवाद समाधानका लागि युक्रेनले अपेक्षित कदम नचालेपछि थप कर्मचारी फिर्ता बोलाउने निर्णय गरिएको विदेश मन्त्रालयका प्रवक्ता पार्क डु-सुनले बताएका छन्।
यद्यपि, युक्रेनसँग कूटनीतिक सम्पर्क कायम राख्न कार्यवाहक राजदूत र आवश्यक कर्मचारी त्यहीँ रहनेछन्। दक्षिण कोरियाली नागरिकलाई सहयोग गर्न वाणिज्यदूतसम्बन्धी काम गर्ने कर्मचारी पनि युक्रेनमै रहने मन्त्रालयले जनाएको छ। कर्मचारी फिर्ता बोलाउने मिति र संख्या भने सार्वजनिक गरिएको छैन।
दक्षिण कोरियाका अनुसार ती दुई उत्तर कोरियाली सैनिक सन् २०२५ को जनवरीमा रूसका लागि लडिरहेका बेला युक्रेनी सेनाको कब्जामा परेका थिए। उनीहरूले उत्तर कोरिया फर्किएमा उत्पीडनमा पर्ने डर व्यक्त गर्दै दक्षिण कोरियामा बस्न चाहेको बताएका थिए।
दक्षिण कोरियाले युद्धबन्दी र उत्तर कोरियामै रहेका उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गर्न स्थानान्तरणको विषय गोप्य राख्ने सहमति भएको दाबी गरेको छ। युक्रेनले भने त्यस्तो सहमति नभएको अडान राख्दै आएको छ। यही विषयलाई लिएर दुई देशबिचको कूटनीतिक सम्बन्धमा तनाव बढेको हो।
यसैबिच, रूसले युक्रेनमा हवाई आक्रमण जारी राखेको छ। सोमबार राति रूसले १६ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र २०० भन्दा बढी ड्रोन प्रहार गरेको विवरण सार्वजनिक भएको छ। आक्रमणका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगेको र पाँच लाखभन्दा बढी घरधुरीको विद्युत् सेवा प्रभावित भएको बताइएको छ। एजेन्सी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।