नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन्।
त्रिभुवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन्।
आइसिसीको नो अब्जक्सन एक वर्षको रहेको र यसले जिम्मेवारी पनि बढेको उनको भनाइ छ। आइसिसीको स्वीकृति पाएसँगै फ्रन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूलो खेलाडी ल्याउन सक्ने क्यानका सचिव खड्काको विश्वास छ।

एनपिएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहेका पारस खड्काले आइसिसीको स्वीकृतिका लागि भरिएको फर्ममा ६ देखि ८ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताए।
यो भन्दा अघि ६ जना मात्र विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो। एसोसिएसट क्रिकेटलाई प्रवर्धन गर्न एक जना खेलाडी राख्न पाउने प्रावधान पनि रहेको उनी बताउँछन्।
खड्काले हरेक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा राख्न पाउने बताए। भविष्यमा आइसिसीको स्वीकृत चाडै पाउन सके फ्रेन्चाइज टोलीले सहज रूपमा खेलाडी राख्न पाउने उनको आशा छ।
लिग सकिएको ६० दिनभित्र सबै रिपोर्ट पठाउनुपर्ने र अर्को सिजनका लागि अप्लाइ गर्नुपर्ने प्रावधान रहेको उनी बताउँछन्।
फ्रेन्चाइज टोलीले एउटा राम्रो खेलाडी भित्राउन कम्ती २ हजार डलरसम्म खर्च गर्नुपर्ने अवस्थामा रहेको र फ्रेन्चाइज टोली अहिले त्यो आर्थिक अवस्थामा नरहेको क्यानका सचिव पारस खड्काले स्पष्ट पारे।
तथापि सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको खड्काले बताएका छन्। आइसिसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेको उनले सार्वजनिक गरे।
क्यान सचिव पारसले डिसिजन रिभ्यु सिस्टम (डिआरएस) राख्ने बारे अझै टुङ्गो लागि नसकेको तथापि नजिक रहेको स्पष्ट पारेका छन्।
यसपल्ट पूर्वधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनले बताएका छन्। यु–१९ महिला विश्वकपका लागि नेपालको तयारी हेर्न आइसिसीको टोली एक महिनाअगाडि मैदानको अवस्था निरीक्षणमा आएको थियो।
उक्त टोलीले दिएको गाइडलाइन अनुरूप पनि पूर्वाधारमा स्तरोन्नति गरिएको क्यानका सचिव पारसले बताएका छन्।
उनले मैदानमा दर्शकको क्षमतामा पनि केही मात्रामा बढ्न सक्ने आशा गरे। सबै गरेर १२ हजार क्षमता हुनसक्ने उनको भनाइ छ।
आइसिसीको सर्तअनुसार एनपिएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ।
लिग निष्पक्ष बनाउन आइसिसीको एन्टी–करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ। सचिव पारसले आइसिसीको स्वीकृतिसँगै एनपिएलको गरिमा र विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको आशा गरेका छन्।
आइसिसीको प्रावधानअनुसार लिग सुरु हुनुभन्दा ६ महिना अघिसम्म कुनै पनि गैरकानूनी वा अस्वीकृत क्रिकेट खेलेका खेलाडी एनपिएल खेल्न योग्य हुने छैनन्।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका विदेशी खेलाडीहरूले समेत आफ्नो घरेलु बोर्डसँग समन्वय गरी एनओसीको प्रावधान पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
फ्रेन्चाइज क्रिकेटमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङको जोखिम उच्च रहने उल्लेख गर्दै क्यानले प्रतियोगिताभर आइसिसीको एन्टी–करप्सन युनिट (एसियु) को नियम पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ।
नेपालमा यससम्बन्धी छुट्टै कानुन निर्माणको प्रक्रियामा रहे पनि एनपिएल अवधिभर आइसिसीको अन्तर्राष्ट्रिय आचारसंहिताअनुसार अनुसन्धान र कारबाहीको दायरा तय हुनेछ।
यसबाट खेलाडी, टिम मालिक तथा अन्य सरोकारवालाहरू थप सतर्क र जिम्मेवार बन्नुपर्ने क्यानको भनाइ छ।
एनपिएलको आधिकारिक टी ट्वान्टी मान्यता पाउने विषयमा आइसिसीसँग औपचारिक पत्राचार भइसकेको र सोमबारसम्म टुङ्गो लाग्ने भएको छ।
क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा ‘आईसीसी एसिया कन्फ्रेन्स’ आयोजना गर्न लागेको जानकारीसमेत दिएको छ।
एसियाका टेस्ट र एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू सहभागी हुनेछन्। उक्त तीन दिने सम्मेलनले एसियाली क्रिकेटको नीतिगत विकासमा छलफल हुने भएको छ।
आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ सम्म हुने तेस्रो सिजनमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
नेपाल प्रिमियर लिगको उद्घाटन खेल अक्टोबर २६ ९सोमबार० का दिन आयोजना हुनेछ। उद्घाटन भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
जुन खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। लुम्बिनी र सुदूरपश्चिम अघिल्लो सिजनको फाइनलिस्ट हुन्। लुम्बिनी उपाधि विजेता हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।