असोजको अन्तिम साताको पहिलो आइतबार अर्थात् दसैं भित्रिएको दिन। नेपालगन्जको जमुनाहा नाकामा खचाखच भिड। अटो रिक्साको चर्को आवाज। गाडीका हर्न र यात्रुको कोलाहल। भारतको रुपैडिहाबाट झोला र पोका बोकेर नेपालीहरू स्वदेश भित्रिरहेका। प्रायः सबैले काँधमा ठुल्ठुला झोला। कसैले बालबच्चा च्यापेका। निधारमा पसिनाका थोपा र अनुहारमा लामो यात्राको थकान। उनीहरू हुन्– भारतका विभिन्न सहरबाट दसैं मनाउन घर फर्किएका नेपाली श्रमिक। यस्तै दृश्य सोमबार र मंगलबार पनि देखियो।
त्यही भिडमा भेटिए कालीकोटका ३४ वर्षीय चक्रबहादुर शाही। दुई ठुला सुटकेस र एउटा कार्टुन बोकेका उनी थकित देखिन्थे। भारतको सिमलामा स्याउ टिप्ने र भारी बोक्ने काम गर्दै आएका शाही १४ महिनापछि घर फर्किएका हुन्।
जन्मभूमि टेक्न पाउँदा उनको अनुहारमा खुसी झल्किएको देखिन्थ्यो। ‘गाडीमा सिट नपाएर रुपैडिहासम्म उभिएरै आएँ,’ उनले भने, ‘जिउ त गलिसक्यो तर घरमा छोराछोरी बाटो हेरिरहेका होलान् भन्ने सम्झिँदा थकाइ बिर्सिएको छु।’

शाहीको अनुभव जमुनाहा नाकामा भेटिने हजारौं नेपाली श्रमिकसँग मिल्छ। पश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लाबाट रोजगारीका लागि भारत पुगेका उनीहरू दसैं नजिकिएसँगै घर फर्कन्छन्। त्यसकारण घटस्थापनादेखि नै नाकामा स्वदेश फर्किनेको चहलपहल बढ्छ। भारतका विभिन्न सहरबाट रुपैडिहा हुँदै नेपालगन्ज आइपुग्ने उनीहरूको अन्तिम गन्तव्य कर्णाली र सुदूरपश्चिमका दुर्गम गाउँबस्ती हुन्छन्। ‘यी श्रमिकको लर्को चाडबाडमा घर फर्किने मानिसहरूको भिड होइन,’ शाहीले भने, ‘पश्चिम नेपालको आर्थिक अवस्थाको ऐना पनि हो।’
गाउँमा रोजगारीको अभाव, सीमित कृषि उत्पादन र परिवारको गुजारा चलाउनुपर्ने बाध्यताले धेरै युवा कमाउन भारत जान्छन् र दसैंतिहार मनाउन घर आउँछन्। उनीहरूका लागि दसैं परिवारसँग भेटघाट गर्ने अवसर मात्र नभई वर्षभरि भोगेका दुःख बिर्सने र केही दिन भए पनि आफ्नै घरआँगनमा रमाउने समय हो।
पश्चिम नेपालका युवा यसरी भारत जानुका पछाडि आर्थिक अभाव, रोजगारीको सीमित अवसर र ग्रामीण जीवनका अनेक बाध्यता जोडिएका छन्। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या ४३ लाख ८३ हजार १९५ छ। त्यसमध्ये सुदूरपश्चिमको २६ लाख ९४ हजार ७८३ र कर्णालीको १६ लाख ८८ हजार ४१२ छ। ठुलो जनसंख्या कृषिमा निर्भर रहे पनि त्यहाँका धेरै परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान पुग्दैन। कतिपय परिवारको उत्पादन तीनदेखि ६ महिनासम्म मात्र पर्याप्त हुने अवस्था छ।
स्थानीय स्तरमा रोजगारीका अवसर सीमित छन्। कृषिलाई व्यावसायिक बनाउन आवश्यक सिँचाइ, प्रविधि, बजार र लगानी अभाव छ। साना उद्योग तथा उत्पादनमूलक व्यवसाय पर्याप्त रूपमा विस्तार हुन सकेका छैनन्। खाडी मुलुक वा मलेसिया जान राहदानी, भिसा, हवाई टिकट र अन्य प्रक्रियाका लागि ठुलो रकम आवश्यक पर्छ।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि त्यो खर्च जुटाउनु कठिन छ। यस्तो अवस्थामा सीमापारिका भारतीय सहर उनीहरूको रोजगारीको सहज गन्तव्य बनेका छन्। तुलनात्मक रूपमा कम खर्चमा पुग्न सकिने र धेरै अवस्थामा औपचारिक वैदेशिक रोजगार प्रक्रियाबिना पनि काम खोज्न सकिने भएकाले भारत उनीहरूको रोजगारीको पुरानो आधार बनेको छ।
कर्णाली र सुदूरपश्चिमको ४३ लाखभन्दा बढी जनसंख्या भएको क्षेत्रबाट मात्रै करिब सातदेखि १० लाख मानिस रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने आकलन गरिएको छ। यसको आधिकारिक तथ्यांक भने छैन।
भारतमा रहेका नेपालीको कुल संख्याबारे विभिन्न अनुमान सार्वजनिक हुँदै आएका छन्। त्यसैले यो क्षेत्रबाट भारतमा काम गर्ने श्रमिकको संख्यालाई आधिकारिक तथा अद्यावधिक गणनाबाट पुष्टि गर्नु आवश्यक छ। यद्यपि पश्चिम नेपालका धेरै परिवारको जीविकोपार्जनमा भारतबाट प्राप्त आम्दानीको महत्त्वपूर्ण भूमिका रहेको तथ्य गाउँबस्तीको दैनिक जीवनमा देखिन्छ।
विशेष गरी सुदूरपश्चिमका अछाम, बाजुरा, डोटी, बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ तथा कर्णालीका कालीकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानबाट भारत जाने श्रमिकको लर्को लामो छ। त्यस्तै लुम्बिनीका रोल्पा, रुकुम पूर्व, प्युठान, अर्घाखाँचीलगायत जिल्लाबाट पनि ठुलो संख्या रोजगारीका लागि भारत गएको छ। यी जिल्लाका धेरै ग्रामीण परिवारका सदस्य दिल्ली, पन्जाब, हरियाणा, मुम्बई, सिमला र उत्तराखण्डका विभिन्न क्षेत्रमा काम गर्छन्।
कोही होटलमा भाँडा माझ्छन्, कोही निर्माण क्षेत्रमा मजदुरी गर्छन्, कोही चौकीदार बन्छन् त कोही कृषि श्रमिक र भरियाका रूपमा काम गर्छन्। उनीहरूको कमाइले घरखर्च चल्छ, बालबालिकाको पढाइ अघि बढ्छ र ऋण तिर्न सहयोग पुग्छ। तर यही बाध्यताले गर्दा धेरै गाउँमा वर्षको अधिकांश समय युवाको उपस्थिति न्यून हुन्छ।
भारतबाट फर्किएका श्रमिकका लागि आफ्नै देशको सीमा पार गर्नु पनि कहिलेकाहीँ अर्को सास्ती हुन जान्छ। रुपैडिहाबाट नेपालगन्ज आइपुग्न अटो रिक्सा प्रयोग गर्ने यात्रुहरू चाडबाडका बेला महँगो भाडा तिर्नुपरेको भनेर गुनासो गर्छन्।
लामो यात्रा गरेर आएका श्रमिकलाई स्थानीय भाडादर र यातायातका विकल्पबारे पर्याप्त जानकारी नहुँदा उनीहरू थप मारमा पर्छन्। सीमामा आवागमनको चाप बढ्दा सामान बोकेर आएका यात्रुलाई गन्तव्यसम्म पुग्न झन् बढी झन्झट हुन्छ। ‘भारतमा दुःख गरेर कमाएको पैसा आफ्नै देशको सीमामा आइपुग्दा पनि जोगाउन मुस्किल हुन्छ,’ सुर्खेतका रमेश थापाले गुनासो गरे, ‘रुपैडिहादेखि नेपालगन्ज बसपार्कसम्म आउँदा अटो रिक्सालाई चर्को भाडा तिर्नुपर्यो।’
नेपालगन्ज आइपुगेपछि उनीहरूलाई फेरि अर्को चिन्ताले सताउन थाल्छ। कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने सवारीसाधनको टिकट पाउनै कठिन हुन्छ। दसैंका बेला यात्रुको चाप बढे पनि सोही अनुपातमा यातायात व्यवस्थापन नहुँदा उनीहरू घण्टौं पर्खिन बाध्य हुन्छन्। कतिपयले जोखिम मोलेर क्षमताभन्दा बढी यात्रु बोकेका सवारीसाधनमा यात्रा गर्नुपर्ने अवस्था आउँछ। लामो समयदेखि परिवारबाट टाढा रहेका उनीहरू भने सकेसम्म चाँडो गाउँ पुग्ने हतारमा हुन्छन्। ‘मैले बोकेको झोलामा दैनिक उपभोगका सामान मात्र छैनन्,’ रुकुम सल्यानका विकास बुढाले भने, ‘छोराछोरीका लागि नयाँ कपडा र खेलौना, श्रीमतीका लागि सारी तथा आमाबुबाका लागि औषधि पनि छन्।’
वर्षभरि दुःख गरेर बचाएको थोरै पैसाबाट परिवारका सदस्यका लागि केही न केही ल्याउने उनीहरूको प्रयास हुन्छ। आफूले भोगेको अभाव परिवारले महसुस नगरोस् भन्ने चाहनाले नै उनीहरू लामो यात्रा गर्न तयार हुन्छन् र अनेक सास्ती सहन्छन्।
जब यी परदेशीहरू गाउँ पुग्छन् तब महिनौंदेखिका सुनसान बस्तीको वातावरण फेरिन थाल्छ। सहर र भारतमा रोजगारीका लागि गएका युवाहरू घर फर्किएपछि गाउँका चोक, चौतारी र आँगनमा चहलपहल बढ्छ। वृद्ध आमाबुबा, महिला र बालबालिकाले भरिएका गाउँमा युवाको उपस्थिति थपिन्छ। वर्षौंपछि भेटिएका साथीभाइबिच कुराकानी हुन्छ। कसैले रोजगारीका अनुभव सुनाउँछन्, कसैले घरपरिवारको हालखबर सोध्छन्। दसैंको तयारीमा घरआँगन सफा गरिन्छ।
रातो माटो र कमेरोले घर पोतिन्छन्। गाउँका युवाहरू मिलेर बाबियो काट्न र पिङ बनाउन जुट्छन्। बालबालिका नयाँ लुगा लगाएर पिङ खेल्न र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न आतुर हुन्छन्। घरघरमा सेलरोटी पाक्छ, खसी काटिन्छ र आफन्त भेला भएर मिठोमसिनो खान्छन्। कतिपय ठाउँमा देउडा खेल्दै रात बिताइन्छ। गाउँको सामाजिक जीवनमा दसैंले ल्याउने रौनकमा परदेशबाट फर्किएका युवाको भूमिका महत्त्वपूर्ण हुन्छ।
चक्रबहादुर शाहीकी ६५ वर्षीया आमाका लागि पनि छोराको आगमन नै दसैंको सबैभन्दा ठुलो खुसी हो। ‘छोरो घर नआउँदासम्म दसैं आएजस्तै लाग्दैनथ्यो,’ उनले भनिन्, ‘अब त मेरो दसैं आयो। छोराको हातबाट टीका थाप्न र उसलाई जमरा लगाइदिन पाउनु नै ठुलो भाग्य हो।’
उनको भनाइमा वर्षौंदेखि छोराको बाटो हेरेर बस्ने धेरै आमाबुबाको भावना झल्किन्छ। परिवारका सदस्यसँगै बसेर चाड मनाउन पाउनु उनीहरूका लागि ठुलो उपलब्धि हो तर यस खुसीका पछाडि छोराछोरीको भविष्य, घरखर्च र रोजगारीको चिन्ता पनि लुकेको हुन्छ। दसैंमा केही दिनका लागि फर्किएका युवालाई चाड सकिएपछि फेरि परदेश जानुपर्ने कुरा परिवारका लागि सहज हुँदैन।
दसैंको टीका सकिएपछि गाउँमा फेरि बिदाइको तयारी सुरु हुन्छ। कोही तिहार र छठसम्म बसेर फर्किन्छन् भने धेरै श्रमिक दसैंलगत्तै भारत जाने बाटो समात्छन्। कात्तिक लाग्दै गर्दा जमुनाहा नाकामा स्वदेश फर्किनेको भिड घट्दै जान्छ र भारततर्फ जाने नेपालीको लर्को बढ्न थाल्छ। केही दिनअघि परिवारसँग भेट्न हतारिएका अनुहारमा फेरि छुट्टिनुपर्ने पीडा देखिन्छ। निधारको टीका र जमरा सुक्न नपाउँदै उनीहरूलाई साहुको ऋण, घरखर्च र आगामी महिनाको जोहो गर्ने चिन्ताले सताउन थाल्छ।
दसैंमा ल्याएका सामान र परिवारसँग बिताएका क्षणको सम्झना बोकेर उनीहरू फेरि रुपैडिहातर्फ लाग्छन्। गाउँमा बनाइएका पिङ फुकालिन्छन्, चोकचौतारी सुनसान बन्छन् र वृद्ध आमाबुबा फेरि अर्को भेटको प्रतीक्षामा बस्छन्। बालबालिकाले बिदाइका बेला बाबुको हात समातेर रोक्न खोजे पनि परिवारको गुजारा चलाउने बाध्यताले उनीहरूलाई परदेश फर्किनबाट रोक्न सक्दैन।
यसरी दसैं पश्चिम नेपालका गाउँका लागि खुसी र बिछोड दुवैको पर्व बनेको छ। परदेशबाट फर्किएका युवाले केही दिन गाउँलाई ब्युँझाउँछन् तर चाड सकिएपछि उही गाउँ फेरि युवाविहीन बन्छ। उनीहरूको श्रमले परिवारको जीवन धानिरहेको छ तर आफ्नै गाउँमा रोजगारीको अवसर नहुँदा परिवारसँगै बसेर जीवन बिताउने चाहना अधुरै रहन्छ। जमुनाहा नाकामा देखिने यो लर्को चाडबाडको आवागमनको दृश्य होइन। यो स्थानीय अर्थतन्त्रमा रोजगारीको अभाव, ग्रामीण क्षेत्रमा उत्पादनमुखी अवसरको कमी र भारतमा श्रम गरेर परिवार धान्नुपर्ने बाध्यताको तस्बिर हो।
स्थानीयस्तरमा कृषि उत्पादन बढाउने, सिँचाइ र बजारको पहुँच विस्तार गर्ने, साना उद्योग स्थापना गर्ने तथा सिपअनुसार रोजगारी सिर्जना गर्ने काम प्रभावकारी रूपमा अघि बढाउन सके भारत जानुपर्ने बाध्यता कम गर्न सकिन्छ।
दसैंमा घर फर्किने परदेशीलाई स्वागत गर्ने गाउँलेहरू युवाहरू सधैं गाउँमै बस्न सक्ने वातावरण निर्माणको प्रतीक्षामा छन्। रोजगारीका लागि भारत जानुपर्ने र चाडबाडमा घर फर्किएर फेरि बिदाइको पीडा सहनुपर्ने अवस्था कहिलेसम्म रहन्छ भन्ने प्रश्न राज्यसामु छ।
रोजगारीको खोजीमा भारत जाने र दसैंमा घर फर्किने यो क्रम तत्काल रोकिने देखिँदैन। तर गाउँमै काम गर्ने अवसर सिर्जना गर्न सकिए दसैंमा मात्रै ब्युँझिने गाउँलाई वर्षभरि जीवन्त बनाउन सकिन्छ। नत्र जमुनाहा नाकामा परदेशीहरूको लर्को लागिरहने छ, गाउँहरू केही दिनका लागि मात्रै रमाउने छन् र परिवारसँगै बस्ने उनीहरूको सपना अर्को दसैंसम्मका लागि थाती रहने छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।