ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

काठमाडौंमा ३ रोपनी जग्गा खोज्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा चक्रपथ नजिक कम्तीमा ३ रोपनी जग्गा अथवा सोही बराबरको संरचना भएको घर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्न रास्वपाले २१ दिने सार्वजनिक सूचना जारी गरेको हो।

पार्टीको केन्द्रीय समितिको असोज १७ गतेको निर्णयबमोजिम वनस्थलीस्थित केन्द्रीय कार्यालयले बिहीबार पहिलोपटक सूचना प्रकाशित गरी इच्छुक घर तथा जग्गाधनीहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

विज्ञापन

खरिद गरिने घर वा जग्गाका लागि पार्टीले ६ वटा अनिवार्य मापदण्ड तय गरेको छ। जसअन्तर्गत उक्त सम्पत्ति काठमाडौं उपत्यकाभित्र चक्रपथसँग जोडिएको वा नजिक हुनुपर्नेछ भने यसको क्षेत्रफल कम्तीमा ३ रोपनी हुनुपर्नेछ।

त्यसैगरी प्रशासनिक कामकाज, ठूला बैठक तथा छलफल गर्न मिल्ने भवन भएको वा त्यस्तो भवन निर्माण गर्न मिल्ने खाली जग्गा हुनुपर्ने मापदण्डमा उल्लेख छ।

कार्यालयमा आउने चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन सहजै राख्न पुग्ने खुला पार्किङ हुनुपर्नेछ भने मुख्य सडकसम्म सजिलै पुगिने गरी कम्तीमा २० फिट चौडा पक्की बाटोले छोएको हुनुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित सम्पत्तिको कानुनी स्वामित्व पूर्ण रूपमा स्पष्ट भएको, खरिद-बिक्री गर्न कुनै बाधा नभएको, कुनै पनि बैंक वा वित्तीय संस्थामा रोक्का नरहेको र कुनै किसिमको कानुनी विवादमा नफसेको हुनुपर्ने सर्तसमेत पार्टीले राखेको छ।

इच्छुक जग्गाधनी वा घरधनीहरूले प्रस्तावसाथ विभिन्न कानुनी कागजातहरू अनिवार्य संलग्न गर्नुपर्नेछ। जसमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अथवा संस्थाको नाममा भए संस्था दर्ता र कर चुक्ता प्रमाणपत्र, नापी नक्सा (ट्रेस नक्सा) र चारकिल्ला प्रमाणित पत्र समावेश हुनुपर्नेछ।

यसैगरी चालु आर्थिक वर्षसम्मको मालपोत वा भूमि कर तिरेको रसिद, बनेको घर भए नगरपालिकाबाट स्वीकृत नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र, घर वा जग्गा प्रस्ट बुझिने तस्बिरहरू र प्रस्तावित मूल्य खुलाइएको अनुसूची-१ बमोजिमको प्रस्ताव फाराम पेस गर्नुपर्नेछ। प्रस्तावित मूल्यमा प्रति आना, प्रति रोपनी दर वा एकमुष्ट रकम अङ्क र अक्षर दुवैमा स्पष्ट खुलाउनुपर्नेछ।

प्रस्ताव पेस गर्दा बन्द खामको बाहिर ‘घर/जग्गा खरिद प्रस्ताव’ उल्लेख गरी आफ्नो नाम, ठेगाना र फोन नम्बर लेखेर कार्यालय समयभित्र रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बुझाउनुपर्नेछ। तोकिएको २१ दिनको म्याद नाघेर आएका कुनै पनि प्रस्तावहरू उपर कारबाही नहुने पार्टीले बताएको छ।

प्राप्त प्रस्तावहरूको स्थलगत निरीक्षण तथा विस्तृत अध्ययन गरी पार्टीको आवश्यकता र उपयुक्तताका आधारमा मात्र अन्तिम निर्णय लिइनेछ। कारण खुलाएर वा नखुलाई कुनै पनि प्रस्ताव आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार पार्टीमा सुरक्षित रहनेछ।

हेर्नुहोस् पूरा –

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।