अहो! पूरै गाउँ नै सहरमा परिणत भइसकेछ। गाउँ परिवर्तन भए जस्तै मानिसहरू पनि परिवर्तन भए कि भएनन्?
तीस वर्षअघिको गाउँ खोज्यो तर उसले भेटेन। मानिस खोज्यो त्यो पनि भेटेन। गोरेटो र घोडेटो खोज्यो ती पनि कतै भेटिएनन्। अन्तिममा उसले मन्दिर खोज्यो। उसले बल्लतल्ल मन्दिर भेट्यो तर हिजोको रूप परिवर्तन भइसकेको अवस्थामा।
आश्चर्य मान्दै मन्दिरमा टाँगिएको शिशामा उसले आफूलाई हेर्यो, म्वाइँ खाने गालामा झ्याउ पलाइसकेको रहेछ। केश अन्तै बसाइ सरिसकेछ। अहो, जीवनको साढे तीन दशकमा सबै परिवर्तन भइसकेछ। जागीरको सुरुवाती दिन। प्रयोगात्मक तालिममा भेटिएका थुप्रै स्थानीय र सहकर्मी मानसपटलमा नाच्न थाले तर स्थिर कोही भएनन्।

हिजो यही गाउँमा आउँदा ऊ एक्लो थियो तर आज आफन्तहरूको भीडमा ऊ एक्लिएको छ। श्रीमती नभएपछि छोराछोरी भएर पनि नभएकै बराबर। घर छ परिवार छैन। आफन्त छन् तर साथमा कोही छैनन् तर ऊ यहाँ किन आयो त? कसलाई भेट्न आयो त? यहाँ आउनुको उद्देश्य के हो त? निरूत्तर हुनुको विकल्प थिएन।
तालिमको सिकाइ। तालीमपछिको रमाइलो। पैसा, यौवन र मस्तीको मिश्रण। रमाइलो कति कति। तालिमको छ महिना त मिलिक्कै बितेको पत्तै भएन। भेटमा रमाइलो बिदाइमा मन भारी। आज साढे तीन दशकपछि उही ठाउँ तर रंगरोगन नयाँ। मन्दिरमा दर्शन गरेर उसले पुजारीलाई हेर्यो, “जूनमाया, तिमी!”
“अहँ, जूनमाया त मरिसकी। म त साध्वी अनुसुया।” अनुसुयालाई हेर्ने एकजोर विस्फारित नयन।
“हाकिम सा’ब, तपाईको छोरा आउँदैछ। तीस वर्षपछि भए पनि अब उसलाई लिएर जानुस्। ओम नम: शिवाय।”
त्यही बेला मन्दिरमा बजेको घण्टीको टङटङ आवाजले अरू केही सुनिएन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।