ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

तल्लो बाटोको त्रासदी

सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।त्यसैले ‘डंकी रुट’ अर्थात् ‘तल्लो बाटो’ भएरै पनि कैयौं आप्रवासी अमेरिका पुगेका छन् भने कैयौंले बाटोमै जीवन बिसाएका पनि छन्। तल्लो बाटोको यात्रा केवल एउटा भौगोलिक यात्रा होइन, यो अभाव, बाध्यता, जोखिम, आशा र त्रासदीको संयुक्त कथा हो।यस्तै कथालाई संसारका विभिन्न साहित्य तथा चलचित्रमा प्रस्तुत गरिएका छन्।

पञ्जाबी लेखक बलदेवजीको ‘इक होर पुल सिरात’ उपन्यास, निर्देशक राजकुमार हिरानीको ‘डंकी’ चलचित्र, ‘आहा मेक्सिको चलिए’ नामक पञ्जाबी चलचित्र तथा ‘सिआइए कमरेड इन अमेरिका’ नामक मलयालम चलचित्र यसै सन्दर्भका उल्लेखनीय सिर्जना हुन्।

नेपाली साहित्यमा कृष्ण धरावासीको ‘तल्लो बाटो’ उपन्यासपछि डा. चन्द्र गिरीको ‘डंकी’ उपन्यास पाठकसामु आएको छ। यो उपन्यासलाई बुकहिल पब्लिकेसनले प्रकाशन गरेको छ।

विज्ञापन

अमेरिका प्रवेश गर्ने अवैध र जोखिमपूर्ण बाटोका रूपमा चित्रित तल्लो बाटो र त्यसका हजारौं–लाखौं यात्रीमध्येका एक प्रतिनिधि पात्र हुन् पशुपति अर्थात् पस्पते। उनको दुःखान्त कथा ‘डंकी’ उपन्यासको केन्द्रीय कथा हो तर यो केवल पशुपतिको मात्रै कथा होइन, उनीसँगै जोडिएका पण्डित बाजे, बिर्खे र अन्य धेरै नेपाली आप्रवासीहरूका कथा पनि यसै यात्राका फरक–फरक आयाम हुन्।

हुन त पशुपति, पण्डित बाजे र बिर्खेहरूको अमेरिका जाने रहरलाई महत्त्वाकांक्षाको रूपमा लिन सकिन्छ तर यो महत्त्वाकांक्षालाई उनीहरूको व्यक्तिगत महत्त्वाकांक्षाका रूपमै मात्र बुझ्नुहुँदैन।त्यसका पछाडि देशभित्रको बेरोजगारी, सीमित र असमान अवसर, आर्थिक अभाव, सामाजिक दबाब र भविष्यप्रतिको अनिश्चितता पनि जोडिएका छन्।

तल्लो बाटोको यात्रालाई केवल अवैध आप्रवासनको समस्याका रूपमा प्रस्तुत नगरी त्यसको सामाजिक–आर्थिक कारण खोज्ने प्रयासलाई ‘डंकी’ उपन्यासको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा लिन सकिन्छ। आखिर पशुपति, पण्डित बाजे र बिर्खेहरूलाई यस्तो जोखिमपूर्ण बाटो रोज्न बाध्य कसले बनायो? नेपाली युवाले किन आफ्नै देशमा भविष्य देख्न सकेनन्? किन उनीहरूले आफ्नै देशमा सुख, समृद्धि, सम्मान र सुरक्षित जीवनको सपना देख्न सकेनन्? यस्ता प्रश्नहरू उपन्यासले उठाएको छ।

‘डंकी’ अवैध बाटोबाट विदेश जाने युवाको कथामात्र होइन, विदेश जान बाध्य बनाउने देशभित्रका संरचनागत समस्याको कथा पनि हो। जब राज्यले आफ्ना नागरिकलाई रोजगारी, उद्यम, उत्पादन, सिपको उपयोग र सम्मानजनक जीवनयापनको उचित र पर्याप्त अवसर दिन सक्दैन, तब विदेशी भूमिको सपना आकर्षक बन्न पुग्छ। यही मनोविज्ञानलाई उपन्यासले पशुपति र उनका सहयात्रीको माध्यमबाट जीवन्त बनाएको छ।

तल्लो बाटोको सबैभन्दा ठुलो विरोधाभास नै सपना र त्रासदीबिचको द्वन्द्व हो। यही द्वन्द्वले नै उपन्यासलाई रोचक र प्रभावशाली बनाएको छ। यात्रीहरूका आँखामा उज्ज्वल र सुरक्षित भविष्यको सपना छ तर उनीहरू हिँडिरहेको बाटोमा मृत्यु, पक्राउ, हिंसा, भोक, थकान र अनिश्चितताहरूको छाया छ। गन्तव्य निश्चित भए पनि त्यहाँ पुग्ने बाटो अनिश्चित छ। यही विरोधाभासले उपन्यासको संवेदनात्मक शक्ति निर्माण गरेको छ।

पशुपतिजस्तै अरू धेरै यात्रीको गन्तव्य निश्चित छ तर त्यो गन्तव्यसम्म पुग्ने बाटो निश्चित छैन। उनीहरू अनिश्चित बाटो पछ्याउँदै अगाडि बढ्छन् र बाटोमै जीवन समाप्त हुने सम्भावना बोकेर हिँड्छन्। गन्तव्यप्रतिको आशाले उनीहरूका पाइला रोकिँदैनन्। जीवन र मृत्युको दोसाँधमा पनि भविष्य बदल्ने सपनाले मान्छेलाई कति टाढासम्म पुर्‍याउँछ भन्ने मनोवैज्ञानिक पक्ष उपन्यासमा प्रभावकारी रूपमा प्रस्तुत भएको छ। यो लेखकको अनुभव र अनुसन्धानको परिणाम हो।

‘डंकी’ जोखिमपूर्ण यात्राको वृत्तान्त मात्रै होइन।यो अमेरिका पुगेर जीवन बदल्ने र भविष्य सुरक्षित गर्ने सपनाको बिम्ब पनि हो। यद्यपि त्यही सपना अर्को कोणबाट हेर्दा भ्रम, जोखिम र त्रासदीको स्रोत बन्न सक्छ भन्ने चेतावनी पनि उपन्यासको अन्तर्यमा छ। साहित्यले पठनको आनन्द मात्रै दिँदैन।यसले समाजको समस्या देखाउँछ, प्रश्न उठाउँछ र परिवर्तनका लागि सोच्न पनि बाध्य बनाउँछ। यस अर्थमा ‘डंकी’ एउटा सामाजिक हस्तक्षेपकारी कृति बनेको छ।

गायक पशुपति शर्माले ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही…’ भनेर विदेश नजाने भाव व्यक्त गरेका छन् भने ‘डंकी’का मूल पात्र पशुपति भने आफ्नो र परिवारको सुख र खुसीका लागि अमेरिकातर्फ आकर्षित भएका छन्। यहाँ पशुपति नाम आफैंमा एउटा रोचक बिम्ब बन्न पुगेको छ।एकातिर नेपालमै सुख खोज्ने भावको सांस्कृतिक अर्थ बोकेको नाम, अर्कातिर त्यही नामको पात्र देश छाडेर अमेरिका पुग्नुपर्ने बाध्यतामा परेको अवस्था।यो विरोधाभासले उपन्यासको सामाजिक विडम्बनालाई अझ तीव्र बनाएको छ।

अनुसन्धान र अनुभवमा आधारित उपन्यास ‘डंकी’को कथावस्तु यथार्थको धेरै नजिक पुगेको अनुभूति हुन्छ। यही यथार्थपरकता उपन्यासको कथानकलाई प्रभावशाली र विश्वसनीय बनाउने प्रमुख आधार हो।तल्लो बाटोको यात्रा, त्यसमा संलग्न पात्रहरूको मनोविज्ञान, आप्रवासीको असुरक्षा तथा गन्तव्यमा पुगिसकेपछिको संघर्षलाई लेखकले कल्पनाका आधारमा मात्रै नभई जीवनको यथार्थसँग जोडेर प्रस्तुत गरेका छन्।

उपन्यासमा आप्रवासनको पीडाजन्य यथार्थका साथै मानवीय संवेदना, जिजीविषा, सामाजिक बाध्यता र वैश्विक आप्रवासनको समस्यालाई एकसाथ उठाइएको छ। यसले उपन्यासलाई एउटा यात्राको कथा हुनबाट जोगाएर व्यापक सामाजिक सरोकारको उपन्यास बनाएको छ।कतै भय र त्रास, कतै आशा र सपना, कतै प्रेम र सम्बन्ध तथा कतै संघर्ष र जीवनप्रतिको मोहले कथालाई गतिशील बनाएको छ।

मुख्य पात्रको दुःखान्तले पाठकलाई भावुक मात्र बनाएको छैन, अमेरिका वा अन्य विदेशी मुलुकको सपना देख्नुअघि त्यस सपनाको मूल्यबारे सोच्न पनि बाध्य पारेको छ। भाषा फरक भए पनि भावना उस्तै हुन्छ भन्ने सत्यलाई विभिन्न आप्रवासीसँगको सांकेतिक संवाद र विशेषगरी पशुपति र भेनेजुयलाकी मारियाबिचको भावनात्मक सम्बन्धले उजागर गरेको छ।

‘डंकी’ उपन्यासको उल्लेखनीय विशेषता यसको सरल भाषाशैली र सहज प्रवाहको कथानक हो।जटिल विषयवस्तुलाई पनि लेखकले सहज र सम्प्रेष्य भाषामा प्रस्तुत गरेका छन्। कथाको प्रवाह स्वाभाविक भएकाले पाठकलाई घटनाक्रमसँगै अघि बढ्न कठिन हुँदैन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।