१) मुक्तक
कहिले सुनाउनुपर्छ अनि कहिले सुन्नुपर्छ
उही फूल कहिले च्यात्नु कहिले उन्नुपर्छ

परिस्थिति सधैँ समान अनि अनुकूल हुँदैन,
आवश्यकता अनुसार मुख कान थुन्नुपर्छ।
२) मुक्तक
आफैँलाई खाने त हो आखिर पिरले पनि
जेनतेन जीवन निर्वाह गर्ने हो जागिरले पनि
शान्त र खुशी मनले पेटभर खान पाए हुन्छ,
उही एक छाक टर्ने हो ढिँडो वा खीरले पनि।
३) मुक्तक
निश्चित हुँदैन फल लाग्ने भमरा डुल्दैमा
विश्वास गर्न सकिँदैन कुराकानीमा खुल्दैमा
जान्नेसँग नै हो सिक्ने, सिक्न लजाउनु पर्दैन,
ज्ञान, सीप, ढङ्ग पुग्दैन मात्र कपाल फुल्दैमा।
४) मुक्तक
नाम पो फुटबल तर टाउकोले पनि गोल हुन्छ
मासुमासु भने पनि खान मीठो त झोल हुन्छ
नमिलौँ भन्ने कसलाई होला र एक आपसमा,
बीउ धेरै चाहिँदैन मात्र बिचमा एक पोल हुन्छ।
५) मुक्तक
सेट मात्र भएर चल्दैन फोन सिम चाहिन्छ
परिणाम आउनलाई काम गर्ने टिम चाहिन्छ
आफन्त हुँदैमा आफ्नो हुन सक्दैन कोही,
उनलाई उज्यालो तर मलाई डिम चाहिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।